सफ्टवारिका कलेजमा सम्पन्न भयो ‘टेक एक्स : एलिभेट २०२५’- प्रविधि, उद्यमशीलता र प्रेरणाको संगम

काठमाडौँ । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्सव ‘टेक एक्स : एलिभेट २०२५’ सम्पन्न भएको छ।

असार ३२ गतेदेखि श्रावण ३ गतेसम्म सञ्चालित यस कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यावसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको कलेजले जनाएको छ ।

कलेजका अनुसार करिब १०,००० भन्दा बढी आगन्तुकहरूको उपस्थिति, ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी ख्यातिप्राप्त कन्टेन्ट क्रिएटरहरूसँगको संवादले यस महोत्सवलाई एक अविस्मरणीय प्रविधि उत्सवको रूपमा स्थापित गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूद्वारा विकास गरिएका २० भन्दा बढी नवीन प्रविधिमूलक प्रोजेक्टहरू प्रदर्शन गरिएका थिए । करुणा (नलेज-बेस्ड असिस्टेन्ट फर रोबोटिक युटिलिटी एण्ड नेभिगेसन एक्ट्स), मिरा (मोडर्न एजुकेशनल एण्ड एंगेजमेन्ट रोबोटिक असिस्टेन्ट), स्टडीसेन्स (भर्चुअल रियालिटी-इनेब्ल्ड गेमिफाइड कोर्स काउन्सेलर), तोमात्रों (द एआई-पावर्ड एग्रोबोट फर प्रिसिजन टोमाटो हार्भेस्टिङ), फिसअवेर, फ्लिप आरएफआईडी, केम्ल्याब भीआर, एभिलट्वीन डिटेक्टर एमएल, सुरक्षित एभी स्ट्रिम जस्ता इनोभेसनहरूले दर्शकहरूको ध्यान ताने।

उद्यमशीलता र व्यावसायिक सोचको विकासका लागि आयोजित आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोइराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता स्थापित उद्यमी तथा प्रशिक्षकहरूले अनुभव बाँडेका थिए ।

कलेजले प्रतिभाशाली स्टार्टअपहरूमाझ लगानी प्रवाह सुनिश्चित गर्न १ करोड रुपैयाँ लगानीको घोषणासमेत गरेको थियो ।

चार दिनका क्रममा विभिन्न प्रेरक व्यक्तित्वहरूले जीवनदृष्टिकोण, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वबारे संवाद गरे।

दुई दिनसम्म सञ्चालन भएको जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जहाँ सफ्टवारिका कलेजका हालका र पूर्व विद्यार्थीहरूसमेत गरी ५ सयभन्दा बढी सहभागीहरूले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शमार्फत भविष्य निर्माणका सम्भावनाहरूको खोजी गरेका थिए ।

कार्यक्रमको विशेष आकर्षणमध्ये ‘आइरन क्लास’ रोबोट युद्ध प्रतियोगिता उल्लेखनीय रह्यो, जहाँ २ वर्षदेखि निरन्तर तयारीमा रहेका विद्यार्थी समूहहरूले उच्च प्रविधिको प्रयोगसहित प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेताहरूलाई रु। ३ लाख बराबरको पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =