को हुन् डा. सुनिल शर्मा ? (भिडिओसहित)

शर्माको प्रेरणादायी जीवनी: संघर्षबाट सांसदसम्म

नेपाली काङ्ग्रेसका निर्वाचित सांसद हुन् डाक्टर सुनिल शर्मा ।

सांसदका रूपमा मात्र होइन दरो, खरो र स्पष्ट बोल्ने एक सांसदका रूपमा यिनको चिनारी हुने गर्छ अचेल । विकृति, विसङ्गति र बेथितिविरुद्ध बोल्न यी रत्तिभर पनि डराउँदैनन्, । चाहे आफ्नै पार्टी पङ्ति को कुरा नै किन न होस । बे धडक बोल्छन्। यिनले बोलेका कतिपय कुराहरू त क्लिपका रूपमा लाखौँ, करोडौँले हेरि पनि सकेका छन् सामाजिक सञ्जाल हरूमा । त्यसैले यतिखेर यी एक लोकप्रिय सांसदका रूपमा बढी चिनिन्छन् । डाक्टर सुनिल शर्मा स्वास्थ्य उद्यमी हुन । विराटनगर स्थित नोबेल मेडिकल कलेज र काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज, यिनकै स्वामित्वमा सञ्चालित छ ।

आज यी जति लोकप्रिय र सम्पन्न छन् यिनको विगत पनि उत्तिकै कहाली लाग्दो छ । यिनका पितापुर्खा कुनै समयमा भोजपुरको गोगने भन्ने ठाउँमा बसोबास गर्दथे। तर आफ्नो टेक्ने भुईँ र समाउने हाँगा केही नभए पछि यिनका पितापुर्खा धनकुटाको चुन्बाङ आए। बुवा लोकनाथ न्यौपानेको जन्म त्यही चुन्बाङमा भयो। त्यहाँ पनि काम धाम त्यत्ति नपाए पछि बुवा लोकनाथ आफ्नी अर्धाङ्गिनी होमा देबिन्यौपानेलाई लिएर झापा झरे । र झापाको दमक स्थित दुम्से भन्ने ठाउँमा नारायण बरालको एउटा गाई गोठमा सहयोगीका रूपमा काम गर्न थाले । र उनै नारायण बरालको गाई गोठमा जन्मिएका हुन सुनिल शर्मा ।

यसर्थ एक हिसाबमा भन्ने हो भने यी एक सुकुम्वासी परिवारका छोरा हुन । सुनिलका एक दाइ र एक दिदी पनि छन् । यतिखेर डाक्टर सुनिल बाउन्न वर्षका भएका छन् । बुवा, आमा, श्रीमती एक छोरी र एक छोरा गरी जम्मा छ जनाको परिवार रहेको छ यिनको । विराटनगरको नोबेल मेडिकल कलेजको व्यवस्थापन भने छोरी सोइना शर्माले र काठमाडौँको मेडिकल कलेज सुनिलका दाइ डाक्टर के.पी शर्माले सम्हाली रहेका छन् । दुवै कलेजमा पन्ध्र हजार भन्दा बढी नेपाली युवाले प्रत्यक्ष रोजगार पाएका छन् । यिनको एउटा घर मोरङको बेलबारीमा छ, जहाँ आमा बुवा बस्नुहुन्छ भने बाँकी परिवार काठमाडौँमै बस्छन् ।

डा. सुनिल शर्माको समाजसेवा पनि चर्चा गर्न लायक कै नै छ । डा शर्माले एक हजार भन्दा बढी दलित तथा जनजाति विद्यार्थीहरुलाईनिजी लगानीमा नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा डाक्टर, ल्याब टेक्नीसियन, रेडीयोगा्रफर र नर्सको अध्ययन समेत गराइसकेका छन् । सन्थाल जातिको पहिलो डाक्टरका रूपमा चिनिने डाक्टर दिनेश हाँस्दा सुनिलकै उत्पादन हुन् । अर्को कुरा डाक्टर सुनिलले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू समेत सञ्चालन गर्दै आएका मात्र छैनन्, यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था समेत मिलाउने काम निरन्तर गरिनै रहेका छन् ।

यति मात्रै होइन नोबेल मेडिकल कलेज विराटनगरमा त आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शैयाको निःशुल्क क्याबिन समेत स्थापना गरिदिएका छन् सुनिलले । यसका अलावा विभिन्न ठाउँहरू एम्बुलेन्स समेत हस्तान्तरण गरी सकेका छन् यिनले ।

२०७९ को चुनावमा, डा. शर्मा मोरङ – ३ बाट ४८,६३१ मत प्राप्त गरी अत्यन्तै ठुलो मतान्तरले (२२,७३६) सङ्घीय संसद्, प्रतिनिधि सभाका सदस्यमा निर्वाचित भएका थिए, जुन बहुदल स्थापना भएपछि, नेपाली काङ्ग्रेसको इतिहासमा सबैभन्दा ठुलो मतान्तर हो। डा. शर्मा मोरङ–३ क्षेत्रबाट यस्तो ऐतिहासिक जित हासिल गर्ने नेपाली काँग्रेसका पहिलो उम्मेदवार हुन्।यो सफलता उनको जनसमर्थन, राजनीतिक दूर दृष्टि र समाज सेवा प्रतिको प्रतिबद्धताको परिणामस्वरूप आएको हो।
राजनीति सेवा हो भन्ने भावनामा विश्वास राख्ने डा. शर्मा नेपालको एक मात्र यस्ता सांसद हुन् जसले सांसद भयबापतको तलब भत्ता नलिईकन निरन्तर सेवा गर्दै आइरहेका छन् । डाक्टर सुनिल द्वारा संसद्मा दर्ता गरिएको ‘स्वास्थ्य बिमा सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव’ ले देशभर जनचासो र समर्थनको एक प्रकारको तरंगनै ल्याएको थियो, जसमा सबै दल एकमत भएका थिए ।

२०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र युद्धले मुलुकलाई अशान्ति र अस्थिरतामा धकेलेको थियो। त्यो समय लोकतान्त्रिक शक्तिहरू र माओवादी आन्दोलन दुई फरक ध्रुवमा थिए।
तर, यिनै दुई ध्रुवबिच संवादको पुल बन्ने एउटा महत्त्वपूर्ण पात्र थिए डा. शर्मा।

डा. सुनिल शर्माले तत्कालीन नेपाली काँग्रेसका नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व गिरिजा प्रसाद कोइरालाको विश्वास पात्रको रूपमा काम गरे। यही विश्वासका आधारमा, कृष्ण सेन (इच्छुक) मार्फत, पहिलो पटक, गिरिजा बाबु सँग माओवादी नेता प्रचण्डको टेलिफोन सम्पर्क गराउने ऐतिहासिक भूमिका उनले निर्वाह गरे। यो प्रक्रियामा डा. शेखर कोइराला प्रमुख मध्यस्थकर्ताको रूपमा थिए। डा. शर्मा, डा. शेखरको नेतृत्व रहँदै, युद्धरत दुवै पक्षबीच विश्वास कायम गर्न लागी परे। मनोज थापा, महेश्वर दाहाल, वर्षमान पुन, र कृष्णबहादुर महरा जस्ता माओवादी नेताहरूसँग सम्पर्क स्थापित गर्दै, उनले युद्ध अन्त्य गर्ने दिशामा दुवै पक्षबीच विश्वासको वातावरण निर्माण गर्न र माओवादीलाई शान्ति प्रक्रिया सम्म लिएर आउने क्रममा महत्त्वपूर्ण भूमिका खेले।

सङ्क्रमणकालीन त्यो समयमा डा. शर्मा एउटा यस्तो सन्देशवाहक बने, जसको शब्दहरूले न त हेडलाइन पाए, न त भाषण।

संघीय संसद्मा डा. शर्मा जब बोल्छन्, उनको आवाज पार्टीको सीमाभन्दा माथि उठेको देखिन्छ—जहाँ आम नागरिकको भावना र पीडालाई प्रत्यक्ष रूपमा अभिव्यक्त गरेको पाइन्छ । बजेट छलफलको क्रममा उनले उठाएको विषय बजेट वितरण समन्यायिक हुनुपर्छ भन्ने कुरा सर्वत्र तारिफ भएको छ ।
डा. शर्मा भगवान् बुद्धको आध्यात्मिक चिन्तन र नेपाली काँग्रेसका संस्थापक नेता बी.पी. कोइरालाको जनतामुखी राजनीतिक विचारबाट प्रेरित छन्। उनी सरल छन्, सत्य बोल्न डराउँदैनन् , र सधैँ नागरिककै भाषा बोल्छन् । संसद्मा उनको उपस्थिति एक साँचो मानेमा जनताको प्रतिनिधिको रूपमा महसुस हुन्छ—जो सधैँ आम जनताको पक्षमा उभिन्छन्, तिनको आवाज बन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =