पदाधिकारी हेरफेर अद्यावधिक नभएपछि निर्वाचन आयोग पुग्यो रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
पदाधिकारी हेरफेर अद्यावधिक नभएको विषयमा ध्यानाकर्षण गराउन रास्वपाका नेताहरू आइतबार निर्वाचन आयोग पुगेका हुन् ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरू कान्तिपथस्थित निर्वाचन कार्यालयमा पुगेका हुन्।
रास्वपाका नेताहरूले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेटघाट गरी छलफल गरेका छन् ।
बैठकपछि, महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पार्टीका पदाधिकारी हेरफेरको अद्यावधिक गर्नमा विलम्ब गरेको प्रस्ट पारे ।
‘विलम्ब नहुनुपर्ने केही कारणहरू छन् कि भनेर हामी यहाँ आएका थियौँ । पार्टीबाट सबै जानकारी आयोगसम्म पुगेको छ’, महामन्त्री बुर्लाकोटीले भने ।
उक्त विषयलाई लिएर रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।









