पूर्वाधारमा लगानी बिना आर्थिक वृद्धि सम्भव छैन : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधार क्षेत्रमा ठोस लगानी आवश्यक रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा सम्पन्न परिसंघको २२औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले दिगो पूर्वाधार विकासलाई समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा वर्णन गरे ।

उनले सन् २०१४ देखि हरेक दुई वर्षमा पूर्वाधार सम्मेलन गर्दै आएको उल्लेख गर्दै हालै सम्पन्न पाँचौं नेपाल पूर्वाधार सम्मेलनको सफल आयोजनालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

“पूर्वाधारमा लगानी नगरी उच्च आर्थिक वृद्धि सम्भव छैन,” उनले भने, ‘Sustainable Infrastructure through Strategic Investment’ भन्ने नारासहित नेपाल सरकारसँगको सहकार्यमा सम्मेलन आयोजना गरेका थियौं, जहाँ अन्तर्राष्ट्रिय अभ्यास र लगानी जुटाउने उपायमा गहन छलफल भएको थियो ।”

अग्रवालले सूचना प्रविधि क्षेत्र नेपालको आर्थिक विकासको अभिन्न अंगका रूपमा तीव्र गतिमा अघि बढिरहेको बताए । यसैक्रममा, TechPeak Nepal 2024 काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरिएको र पहिलोपटक अमेरिकाको ओरलान्डोमा TechPeak Nepal Road Show पनि गरिएको जानकारी दिए ।

उनले उद्योग क्षेत्रका समस्या पनि औंल्याए । उनका अनुसार, नियमित विद्युत आपूर्ति नहुनु उद्योगको उत्पादन लागत वृद्धि हुनुको एक प्रमुख कारण हो । “उद्योगहरुको उत्पादन बढ्न सकेको छैन,” उनले भने, “बैंकमा लगानीयोग्य रकम प्रशस्त छ, तर विगतमा नियामक निकायले लिएका नीतिका कारण लगानीकर्ता निष्क्रिय छन् ।”

अग्रवालले गत वर्ष परिसंघले आयोजना गरेको कार्यक्रममा ‘अर्थतन्त्र नीति प्रेरित मन्दीमा छ’ भन्ने चेतावनी दिइसकेको स्मरण गरे । उनले भने, “त्यसैको परिणाम आज अर्थतन्त्रले भोगिरहेको छ, जुन अब Balance Sheet Recession र Consumption Downgradeको दिशामा गइरहेको छ ।”

उनका अनुसार, यो अवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको वासलातमा समेत प्रत्यक्ष असर गरेको छ । तर, उनले केही कानूनी र नीतिगत सुधारलाई सकारात्मक कदमको रूपमा पनि औंल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =