अब हुम्लाले चीन-भारत जोड्छ : प्रधानमन्त्री ओली

काठमाडौं । कर्णालीको दुर्गम जिल्ला हुम्ला आजबाट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका-५ स्थित च्वाखोला नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्ने तय भएसँगै हुम्ला सडक सञ्जालमा जोडिएको हो ।
यो ऐतिहासिक उद्घाटनसँगै नेपालका ७७ वटै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिनेछन् । प्रधानमन्त्री ओलीले पुल उद्घाटनका लागि हुम्ला प्रस्थान गर्नुअघि सामाजिक सञ्जालमार्फत आफ्नो उत्साह व्यक्त गरेका छन् । ‘ आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ,’ प्रधानमन्त्री ओलीले भने ।
४१० किलोमिटर लामो यो सडकले कर्णाली प्रदेशलाई उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र बनाउने र वैदेशिक व्यापारमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ । वि.सं. २०५१ सालदेखि निर्माण सुरु भएको यो सडकले विभिन्न आरोह-अवरोह पार गर्दै आज पूर्णता पाएको हो । यो पुल सञ्चालनमा आएसँगै अब हुम्ला सदरमुकाम सिमकोटसम्म गाडी पुग्नेछ ।
यसअघि खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुका लागि हवाई यातायात र महँगो ढुवानीमा निर्भर हुम्लावासीले अब सडक मार्गबाटै सहज र सस्तो मूल्यमा सामान पाउनेछन् । यो सडक सञ्जालले स्थानीय उत्पादनले बजार पाउनेछ भने कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि पनि यो मार्गले सहजता थप्नेछ ।








