डेंगीका १ हजार ६ सय ७३ केस पुष्टि, ७३ जिल्लामा फैलियो संक्रमण

काठमाडौँ । चालू आर्थिक वर्षको पुस १७ देखि असार १८ गतेसम्म नेपालभर डेंगीका १ हजार ६ सय ७३ केस पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी संक्रमण देशका ७३ जिल्लामा फैलिएको छ ।
शुक्रवार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाश बुढाथोकीले चारवटा हिमाली जिल्ला – डोल्पा, हुम्ला, मनाङ र रसुवामा भने हालसम्म संक्रमण नदेखिएको जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै संक्रमण वाग्मती प्रदेशमा ४०४, गण्डकीमा ३५८, र कोशीमा ३३४ केस रहेका छन् । जिल्लागत रूपमा काठमाडौंमा १७८ जना, कास्कीमा १३४ जना र सुनसरीमा १०५ जनामा डेंगी पुष्टि भएको छ ।
डेंगीका सामान्य लक्षणमा उच्च ज्वरो, जोर्नी तथा मांशपेसी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा देखिने, वाकवाकी लाग्ने वा वान्ता हुने पर्न छन्। प्रवक्ता बुढाथोकीका अनुसार करिब ८० प्रतिशत संक्रमितमा लक्षण देखिंदैन ।
कोभिड–१९ पनि बढ्दै, ३५ नयाँ केस
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ को संक्रमण पनि पुनः देखिन थालेको छ । गत पुस १७ देखि असार १८ गतेसम्म देशका ३१ जिल्लामा २४३ संक्रमित भेटिएका छन् । पछिल्लो एक सातामा मात्र ३५ नयाँ केस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सरकारको निगरानी व्यवस्था पनि कडा बनाइएको प्रवक्ता बुढाथोकीले बताए ।
उनका अनुसार कोशी प्रदेशमा पशुपतिनगर, मेची, रानी; मधेसमा मदर, बिर्तामोड, गौर, इनरुवा, वीरगञ्ज; लुम्बिनीमा गलैया, कृष्णनगर, जमुना; गण्डकीमा त्रिवेणी; सुदूरपश्चिममा त्रिनगर, गड्डाचौकी, झुलाघाट, कुलाघाट, टिकापुर हेल्थ डेस्क तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाइएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता बुढाथोकीले स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधन तथा नियमावली २०७५ को संशोधन अनुसार अब प्रथम सेवा बिन्दुमा मात्र सरकारी स्वास्थ्य संस्थामा रहने जानकारी पनि दिए । ‘विगतमा निजी तथा सामुदायिक अस्पतालबाट समेत सेवा दिइएकोमा अब साउन १ गतेदेखि यस्तो सेवा केवल सरकारी स्वास्थ्य संस्थाबाट मात्र उपलब्ध हुनेछ,’ उनले भने ।
स्वास्थ्य बीमा बोर्डले यस निर्णयबारे सबै निजी तथा सामुदायिक अस्पताललाई परिपत्र मार्फत जानकारी गराइसकेको मन्त्रालयले जनाएको छ ।









