पूर्वमन्त्री राजेन्द्र खरेलको निधनले कांग्रेस स्तब्ध, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताको बिदाइ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व शिक्षाराज्यमन्त्री तथा पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री राजेन्द्र खरेलको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको असार ७ गते राति ९ः४५ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारकै क्रममा निधन भएको हो । उनि ८० वर्षका थिए ।
लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत रहेका खरेलको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी, निष्ठावान तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गुमाएको छ । उनका छोरा महेश खरेल हाल काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति छन् ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा पिता सुब्बा देवीप्रसाद खरेल र माता मुकुन्दकुमारी खरेलका माइलो सन्तानका रूपमा जन्मिएका खरेल नेपाली कांग्रेसका आदर्शवादी र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित थिए । उनका परिवारमा श्रीमती तथा तीन छोरा—कृष्ण, महेश र शैलेश खरेल हुन् ।
खरेलको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको थियो । वि.सं. २०२५–२६ तिर तत्कालीन नेशनल कलेज (हाल शंकरदेव क्याम्पस) मा अध्ययनरत रहँदा उनले नेपाल विद्यार्थी संघको इकाइ गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसबेला प्रख्यात अर्थशास्त्री विश्वम्भर प्याकुरेल अध्यक्ष रहँदा खरेल सचिवका रूपमा सक्रिय थिए ।
लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा उनि अग्रपङ्क्तिमा रहेका थिए । वि.सं. २०३६, २०४२, २०४६ तथा २०६२÷०६३ का जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको थियो । राजनीतिक गतिविधिकै कारण उनले विभिन्न समयमा गरी झण्डै नौ वर्ष जेल जीवन बिताएका थिए ।
उनि नेपाली कांग्रेसका संस्थापक पुस्ताका नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वासपात्र नेतामध्ये एक मानिन्थे । पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा उनको महत्वपूर्ण योगदान रहेको स्मरण गरिन्छ ।
काभ्रे कांग्रेसको राजनीतिमा उनको योगदान विशेष रूपमा उल्लेखनीय मानिन्छ । वि.सं. २०५६ सालको आमनिर्वाचनमा काभ्रे क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि उनि शिक्षाराज्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि उनले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पनि सम्हाल्लेका थिए ।
शिक्षा राज्यमन्त्रीका रूपमा उनले काभ्रेको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए । उनकै पहलमा काभ्रेमा प्राथमिक शिक्षा परियोजना लागू गरिएको थियो, जसले विद्यालय पूर्वाधार निर्माण र शैक्षिक पहुँच विस्तारमा सहयोग पु¥याएको थियो । साथै, उनको कार्यकालमा देशभर करिब १,३०० शिक्षक दरबन्दी वितरण भएको र काभ्रेमा मात्रै करिब २५० दरबन्दी थपिएको बताइन्छ ।
पटक–पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खरेल पछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा पनि सक्रिय रहेका थिए । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी नीतिगत सुधार र सामाजिक कल्याणका क्षेत्रमा समेत योगदान दिएका थिए ।
खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उनको निधनले विशेषगरी काभ्रे कांग्रेसलाई अपूरणीय क्षति पुगेको भन्दै उनको योगदान लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ ।









