विद्यार्थी नेतृ अस्मिता खत्री राष्ट्रिय युवा संसदमा विजयी

काठमाडौं । विद्यार्थी राजनीति तथा सामाजिक अभियानमा लामो समयदेखि सक्रिय युवा नेतृ अस्मिता खत्री राष्ट्रिय युवा संसद २०८२ मा बागमती प्रदेशबाट विजयी भएकी छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधित्व गर्दै उनले अब युवाका नीतिगत सवाल र आवाजलाई राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्नेछिन् । ग्लोबल युथ पार्लियामेन्टद्वारा आयोजित निर्वाचनमा खत्रीले विजय हासिल गरेकी हुन् ।
कार्यक्रमले युवाहरूलाई लोकतान्त्रिक प्रक्रिया, नीति निर्माण र संसदीय अभ्यासमा प्रत्यक्ष सहभागी गराएर भविष्यको नेतृत्वका लागि तयार पार्ने उद्देश्य राखेको छ । अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला र महानगर कमान्डको जिम्मेवारी सम्हालिसकेकी खत्री विद्यार्थी आन्दोलनकी एक परिचित अनुहार हुन् । उनले शैक्षिक सुधार, महिला अधिकारको पैरवी तथा भ्रष्टाचारविरुद्धका अभियानहरूमा निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएकी छन् ।
आफ्नो विजयपछि अस्मिताले मतदाता र समर्थकप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, ‘यो जित मेरो मात्र होइन, परिवर्तन चाहने सम्पूर्ण युवाहरूको हो । मलाई प्राप्त भएको विश्वास र साथलाई खेर जान दिनेछैन । अब युवाका मुद्दाहरूलाई सडकबाट उठाएर सदनको नीतिगत बहसमा स्थापित गराउनु मेरो मुख्य लक्ष्य हुनेछ ।’
खत्रीको विजयले राष्ट्रिय युवा संसदमा हुने नीतिगत बहस र छलफलहरू थप जीवन्त र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । विद्यार्थी आन्दोलनबाट खारिएकी नेतृको उपस्थितिले युवा-नीति निर्माणमा ठोस र व्यावहारिक सुझावहरू आउने विश्वास लिइएको छ । राष्ट्रिय युवा संसद युवाहरूलाई राष्ट्रिय मूलधारमा समाहित गर्दै उनीहरूको नेतृत्व क्षमता विकास गर्न स्थापित एक महत्त्वपूर्ण समावेशी मञ्च हो ।








