शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेका छन् : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकमा ‘इन्ट्रेस्ट ग्रुप’को चलखेल भइरहेको आरोप लगाएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले सरकार आफैँ पनि ती समूहहरुको दबाबमा काम गरिरहेको बताइन् ।

‘सरकार कि मस्यौदामा उभिनुपर्छ, कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्छ,’ उनले भनिन्, ‘यदि हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराको पछि लाग्ने हो भने संसदको गरिमामय मर्यादा बाँकी रहँदैन ।’

उनले विधेयकका विषयमा सरोकारवालाको प्रभाव बढ्दै गएको भन्दै गम्भीर आपत्ति जनाइन् । ‘सरकारले यस्तो दुवै धु्रवको चित्त बुझाउने शैली अपनाउने हो भने यो विधेयक पार लाग्दैन,’ उनले चेतावनी दिइन् ।

शिक्षक नियुक्तिका विषयमा विगतमा सहमति भएको बुँदालाई पनि स्मरण गराउँदै भट्टराईले भनिन्, ‘मस्यौदामा त हामीले ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको कुरा राखेका थियौं, पछि सहमतिमा पुग्दा ६० आन्तरिक र ४० खुला प्रतिस्पर्धामा गयौं। अब फेरि त्यसमा पनि चलखेल गर्ने हो भने विधेयकको औचित्य नै गुम्छ ।’

बैठकमा अन्य सांसदहरुले पनि विधेयकको हालको प्रक्रिया सरोकारवालाको चापमा अगाडि बढिरहेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =