नेपालमा जति सम्भावना अन्यत्र छैन : चन्द्र ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अबको समय आन्तरिक उत्पादन र व्यवसायिक गतिविधि विस्तारतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र राजश्व वृद्धिका लागि घरेलु उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

“नेपालमा सम्भावना छैन भन्ने नेगेटिभ भास्य सिर्जना भइरहेको बेला हामीले देखाउनुपर्ने कुरा के हो भने, नेपालमै सम्भावना छ र यो देशमै सबै गर्न सकिन्छ भन्ने सन्देश दिनुपर्ने बेला आएको छ,” ढकालले भने ।

ढकालले उत्पादन क्षेत्र विस्तार गर्न सरकारले नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “डोमेस्टिक लगानीकर्तालाई अलिकति पोलिसीले सपोर्ट गर्‍यो भने, आवश्यकताअनुसार हरेक सामग्रीको उत्पादन नेपालमै गर्न सकिन्छ ।”

उनका अनुसार एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगले निर्माण सामग्रीको आयात घटाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र राजश्व बढाउने लक्ष्य लिएको छ ।

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योगका रूपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको हो । आइएमई ग्रुपको डेढ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो उद्योगले विशेषगरी विपद्‌को समयमा तत्काल आवास निर्माणमा प्रयोग हुने सामग्री उत्पादन गर्नेछ ।

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगको औपचारिक शुभारम्भ गर्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक विकासलाई अगाडि बढाउने नीति लिएको बताए ।

अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई दिएको प्राथमिकताको स्वागत गर्दै भने, “अब बजेटको प्राथमिकता कागजमा मात्रै होइन, व्यवहारमा पनि उतार्ने समय आएको छ। विश्वास निर्माण काम गरेरै मात्र हुने हो ।”

“हामीले यहीँ रोजगारी सिर्जना गर्न सके, राजश्व सरकारलाई बुझाउन सके, भने पूँजीको अभाव हुँदैन,” अध्यक्ष ढकालको भनाइ थियो, “अब विदेश होइन, स्वदेशमै व्यवसाय बढाउनुपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =