एस्पायर कलेजबाट सुरुभयो ‘रूपान्तरणमुखी शिक्षा’बारे देशव्यापी सम्मेलन

विराटनगर । शिक्षण सिकाइलाई समयसापेक्ष र प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा आइतबार ‘रूपान्तरणमुखि शिक्षामा अभ्यास’ विषयक देशव्यापी शिक्षक सम्मेलन सम्पन्न भएको छ ।

विराटनगरस्थित एस्पायर कलेजले काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसनसँगको सहकार्यमा आयोजना गरेको उक्त सम्मेलनमा कोशी प्रदेशका १४ जिल्लाका १८९ जना शिक्षक तथा प्राज्ञिक व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेसनका डिन प्राडा. बालचन्द्र लुइटेलले गरेका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उनले रूपान्तरणमुखी शिक्षाको अवधारणा, यसको आवश्यकता र कक्षाकोठामा प्रयोग गर्न सकिने नवीनतम विधिहरूबारे विस्तृत प्रस्तुति दिए । ‘परम्परागत शिक्षण पद्धतिबाट माथि उठेर विद्यार्थीकेन्द्रित, खोजमूलक र प्रविधिमैत्री सिकाइ वातावरण निर्माण गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘सिकाइका विभिन्न प्रकार, विधि, प्रक्रिया र मूल्यांकनका आधुनिक दृष्टिकोण हुन्छन् । शिक्षकहरूलाई कक्षाकोठामा नवप्रवर्तनका लागि प्रेरित गर्न आवश्यक छ ।’

कार्यक्रममा एस्पायर कलेजका प्रिन्सिपल चिन्तामणि बस्नेतले स्वागत मन्तव्य राख्दै एस्पायर कलेजलाई शिक्षक विकासको नमुना केन्द्र र हरेक क्षेत्रका लागि सिकाइको साझा थलो बनाउने लक्ष्य रहेको बताए । ‘यो सम्मेलन शैक्षिक निरन्तरता र नवीनताको सन्देश प्रवाह गर्न सफल भएको छ,’ उनले भने ।

सम्मेलनका क्रममा शिक्षण सिकाइसँग सम्बन्धित विभिन्न २० वटा विषयमा समानान्तर सत्र सञ्चालन गरिएको थियो। इनोभेटिभ पेडागोजी, शिक्षामा कृत्रिम बौद्धिकता (एआई), रूपान्तरणका लागि नेतृत्व, र डिफरेन्सियटेड इन्स्ट्रक्सन जस्ता विषयमा कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा छलफल गरिएको थियो । साथै, काठमाडौं विश्वविद्यालयका प्राडा. धनपति सुवेदी र डा. विनोदप्रसाद पन्तले ‘शिक्षामा सरोकार र नेतृत्व विकास’ विषयमा विशेष कार्यशालासमेत सञ्चालन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोग युवा परिषद्का प्रतिक राउत, नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष राजन पौडेल, शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल लगायतको उपस्थिति थियो। विभिन्न जिल्लाबाट सहभागी शिक्षकहरूले कार्यक्रम अत्यन्त फलदायी भएको र कक्षाकोठामा प्रयोग गर्न सकिने नयाँ ज्ञान र सीप हासिल गरेको बताए। प्राज्ञिक व्यक्तित्वहरू र शिक्षकहरूबीचको प्रत्यक्ष संवाद र अनुभव आदानप्रदानले कार्यक्रमलाई जीवन्त बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =