बार्सिलोना नजिकैको ‘सयौं झरनाहरूको शहर’ सान्ट हिलारी स्याकल्म

काठमाडौं । बार्सिलोनाबाट झन्डै दुई घण्टाको दुरीमा रहेको एउटा सानो गाउँले हाल पर्यावरण प्रेमी, पदयात्री र शान्ति खोज्ने पर्यटकहरूको ध्यान तानिरहेको छ ।

क्याटालोनियाको गिरोना प्रान्तमा पर्ने सान्ट हिलारी स्याकल्म नामको यस गाउँलाई प्रायः ‘सयौं झरनाहरूको शहर’ भनेर चिनिन्छ । लेस गुइलेरिज पर्वत शृङ्खला र मोन्टसेनी प्राकृतिक पार्कको बीचमा अवस्थित यो क्षेत्र हरियाली र शान्त वातावरणका कारण चर्चित बन्दै गएको छ ।

जसको नजिकै जङ्गलको बीचमा एक आकर्षक रेष्टुरेन्ट पनि रहेको छ । सो रेष्टुरेन्ट जङ्गल भित्र रुखको माथी आकर्षक डिजाइनमा बनाइएको देख्न सकिन्छ ।

सान्ट हिलारी वरपरको लेस गुइलेरिज वन क्षेत्र क्याटालोनियाको सबैभन्दा राम्रोसँग संरक्षित प्राकृतिक क्षेत्रहरूमध्ये एक मानिन्छ । ओक, चेस्टनट, पाइन र बीच प्रजातिका रूखहरूले ढाकिएको यो भूमध्यसागरीय वन १०० भन्दा बढी झरनाहरू, चिसा मुहानहरू र साना खोलाहरूको घर हो ।

वन क्षेत्रमा पदयात्रा गर्दा हरियो काईले ढाकिएको बाटो, चराहरूको चिरबिराहट, र शीतल हावाको झोकाले आगन्तुकहरूलाई सहरको भीड, धुवाँ र कोलाहलबाट टाढा एक अर्कै संसारको अनुभूति दिलाउँछ ।

यो क्षेत्र जंगली बँदेल, मृग, स्याल र दुर्लभ चरा प्रजातिहरूका लागि सुरक्षित आश्रयस्थल हो । यहाँ पाइने वनस्पतिहरूमा औषधीय गुण भएका बोटबिरुवाहरू र विविध च्याउ प्रजातिहरू प्रशस्त छन्, जसले गर्दा यो स्थान पारिस्थितिक अध्ययन, वन अनुसन्धान र प्रकृति फोटोग्राफीका लागि उपयुक्त गन्तव्य बनेको छ ।

इको–टुर, वन स्नान र मेडिटेसन प्रेमीहरूका लागि स्वर्ग

सान्ट हिलारी स्याकल्ममा रहेका पदमार्गहरू सबै उमेर समूह र अनुभव भएका पदयात्रीहरूका लागि उपयुक्त छन् ।

पछिल्लो समय यहाँ निर्देशित इको–टुर, वन स्नान, र पक्षी अवलोकन जस्ता गतिविधिहरू निकै लोकप्रिय बन्दै गएका छन् । साथै, योग तथा मेडिटेसन रिट्रीटका लागि पनि यो क्षेत्र उत्तिकै उपयुक्त मानिन्छ ।

पर्यटकहरूको बढ्दो आकर्षण

शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सुन्दरताको संगम भएको यो गाउँले वर्षेनि हजारौं पर्यटकलाई तानिरहेको छ ।

यहाँको जंगल क्षेत्रभित्र एक रातको बासको लागत औसतमा २०० युरो पर्छ, जसमा स्थानीय जैविक खानपान, गाइड सुविधा र इको–टुर सेवा समावेश हुने गर्छ ।

सान्ट हिलारी स्याकल्म आजभोलि स्पेन भ्रमणमा जाने पर्यावरण प्रेमी र आत्मिक शान्ति खोज्नेहरूका लागि ‘मस्ट–भिजिट’ गन्तव्य बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =