आक्रमण जारी रहँदासम्म इजरायलसँग वार्ता हुँदैन : इरान

काठमाडौं । इरानले इजरायली आक्रमण जारी रहँदा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेको छ । इजरायलका रक्षा मन्त्रीले इरानसँगको युद्ध दीर्घकालीन हुने चेतावनी दिएका केही घण्टापछि इरानको यो प्रतिक्रिया आएको हो ।
शुक्रबार इरानले उत्तर इजरायलमा क्षेप्यास्त्रको वर्षा गर्यो भने इजरायली सेनाले इरानका दर्जनौं स्थानहरूमा हवाई आक्रमण गर्यो । इरानी कूटनीतिज्ञ अब्बास अराघ्चीले भने इजरायली आक्रमण रोकिए मात्र कूटनीतिक वार्ताको विकल्प खोलिने बताए । उनले इरानको आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै इजरायलका आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए ।
इरानले आफूलाई बचाउने वैधानिक अधिकार प्रयोग गरिरहने स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी हवाई कारबाहीबाट बच्नको लागि अधिक्तम दुई हप्ता समय रहेको चेतावनी दिएका छन् । ट्रम्पले बिहीबार दिएको १४ दिने समयसीमा भित्रै निर्णय लिन सक्ने संकेत गरेका छन् ।
शुक्रबार जेनेभामा इरानी र युरोपेली अधिकारीबीच वार्ता भयो । एक इरानी स्रोतका अनुसार वार्ता सुरूमा तङ्गरिएको भए पनि पछि सकारात्मक भएको थियो । यद्यपि, इरानले युरेनियम प्रशोधन क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । जुन उसले ‘गम्भीर रातो रेखा’ भनेको छ । इरान र इजरायलबीचको यो संघर्ष अझै चर्किंदै जाँदा, क्षेत्रीय स्थिरता र कूटनीतिक पहलहरूमा ठूलो चुनौती देखिएको छ ।








