रुपन्देहीमा २ अर्ब लगानीको फ्रेन्च फ्राई उद्योग सञ्चालनमा (भिडिओ)

बुटवल । मुलुकलाई फ्रेन्च फ्राईमा आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने महत्वाकांक्षी लक्ष्यका साथ रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा ‘फर्स्ट च्वाइस फुड’ नामक उद्योग सञ्चालनमा आएको छ  । गुल्मीको मदाने गाउँपालिकाका व्यवसायी कृष्णप्रसाद पौडेलले शुद्धोदन गाउँपालिकामा स्थापना गरेको यो उद्योगले नेपालको कृषि-औद्योगिकरणमा नयाँ आयाम थपेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगको उत्पादन औपचारिक रूपमा सार्वजनिक गरे । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यमशीलताको उदाहरणीय काम गरेका पौडेलले किसानलाई व्यावसायिक बनाएर देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यले उद्योग स्थापना गरेको बताए । पाँच बिघा क्षेत्रफलमा फैलिएको उद्योगले हाल वार्षिक २ हजार टन फ्रेन्च फ्राई उत्पादन सुरु गरेको छ । सञ्चालक पौडेलका अनुसार, उत्पादन क्षमता हरेक वर्ष बढाउँदै लैजाने योजना छ ।

उद्योगले आलुबाट बन्ने फ्रेन्च फ्राई, ह्यास ब्राउनजस्ता परिकार मात्र उत्पादन गर्नेछ । यसका लागि उद्योगले हाल १९ जिल्लाका करिब १० हजार किसानसँग प्रत्यक्ष सहकार्य गरिरहेको छ । किसानले उत्पादन गरेको आलु उद्योगले सोझै खरिद गर्ने भएकाले यसले कृषिको व्यवसायीकरणमा समेत ठोस मद्दत पुग्ने विश्वास लिइएको छ ।

उद्योगले भारतमा आफ्ना उत्पादन निर्यात गर्न थालिसकेको छ भने अमेरिका, दुबई, साउदी अरब र मलेसियाजस्ता मुलुकमा समेत निर्यातको तयारी गरिरहेको छ । हाल काठमाडौं, धरान, नेपालगञ्ज र दाङमा डिलर स्थापना भइसकेका छन् भने देशभरका ४०० भन्दा बढी रेस्टुरेन्टसँग सहकार्य रहेको छ । उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २०० जनालाई रोजगारी दिएको छ ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निष्ठा र मेहनतले काम गरे चमत्कार गर्न सकिने बताए । उनले भने, ‘रित्तो हात लिएर स्वदेश फर्किनुभएको युवाले स्वदेशमै भविष्य खोज्छ र रोजगारी सिर्जना गर्दछ । आलुको आयात प्रतिस्थापन गर्नसक्ने काम आज कृष्ण पौडेलजी र उहाँको कम्पनीले गरेको छ, यो एक जीवन्त उदाहरण हो ।’

त्यसैगरी, सांसद वासुदेव घिमिरेले आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘किसानलाई सामान्य बीमामा अनुदान दिएर मात्र पुग्दैन, सम्मानजनक रूपमा बीउ वृद्धिमा सहयोग गर्नुपर्छ । यस्ता नेपाली उद्योगलाई समयमै प्रवर्द्धन गर्न सरकारले भरपुर सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =