राष्ट्रिय नीतिको ‘सर्जरी’ गर्नुपर्छ, आवश्यक परे अंग काटौँ : योजना आयोग सदस्य विच्छा (भिडिओ)

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी. विच्छाले नेपालका राष्ट्रिय नीतिहरूमा आमूल परिवर्तनको आवश्यकता औँल्याउँदै तिनको ‘निर्मम समीक्षा’ गर्ने बेला आएको बताएका छन् । उनले नीतिको प्रभावकारिताका लागि आवश्यक परे ‘सर्जरी’ गरेर केही अंग काट्न पनि पछि पर्न नहुनेमा जोड दिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य विच्छाले नेपालमा आप्रवासन (माइग्रेसन) र त्यसले निम्त्याएको वैवाहिक सम्बन्ध विच्छेदको समस्या विकराल बन्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरे । आप्रवासनका कारण पारिवारिक संरचनामा दरार आइरहेको विषयलाई सरकारले गम्भीर रूपमा लिएर नीतिगत हस्तक्षेप गर्नुपर्ने उनको सुझाव छ ।

उनले जनसांख्यिक अवस्थालाई नजरअन्दाज गरी योजना बनाउँदा राज्यको लगानी बालुवामा पानी खन्याए सरह भएको टिप्पणी गरे । हिमाल र पहाडी क्षेत्रमा नागरिकलाई लक्षित गरी सडकजस्ता महँगा भौतिक पूर्वाधार निर्माण गरिए पनि तिनको उपयोग गर्ने जनसंख्या नै नहुँदा लगानी खेर गइरहेको उनले बताए ।

उनले भने, ‘हाम्रो माइग्रेसन र कपल सेप्रेसनको समस्यालाई नीतिमा पुनर्विचार गर्ने बेला भइसक्यो । अब हाम्रा नीतिलाई निर्मम ढंगले सर्जरी गरौँ । यदि कुनै अंग काट्नुपर्छ भने काटिदिऔँ, ढिला नगरौँ । हाम्रो अव्यवस्थित र योजनाविहीन विकासले समस्या बढाएको छ । हिमाल-पहाडमा चार लेनको सडक बनेको छ, तर त्यसलाई उपयोग गर्ने जनसंख्या छैन । जनसंख्याको गतिशीलता नबुझी नीति बनाइए हाम्रो लगानीको कुनै अर्थ रहँदैन ।’

समस्याको समाधानका रूपमा प्रा.डा. विच्छाले युवा जनशक्तिमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, अबको पुस्ता बढी अध्ययनशील र सीपयुक्त भएकाले उनीहरूको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले लगानी बढाउनुपर्छ । विगतका २५-२६ वर्षमा जनसांख्यिक लाभको अवसर गुमाइसकेको अवस्थामा अब ‘पोलिसी डिपार्चर’ (नीतिगत फड्को) मार्दै युवामा लगानी गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =