उच्च मनोबलसहित नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिँदै नेपाल, सोमपाल र गुल्सन टोली बाहिर

काठमाडौं । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज टी-२० त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । ग्लासगोस्थित टिटवुड मैदानमा हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
हालै सम्पन्न आईसीसी विश्वकप लिग-२ एकदिवसीय त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई दुवै खेलमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । सोही लयलाई टी-२० मा पनि निरन्तरता दिँदै सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्य कप्तान रोहित पौडेलको टोलीको छ । उता, सिरिजको पहिलो खेलमा आयोजक स्कटल्यान्डसँग ३९ रनले पराजित भएको नेदरल्यान्ड्स आजको खेल जित्दै प्रतियोगितामा पहिलो सफलता हासिल गर्ने दबाबमा हुनेछ ।
यसअघि लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ५ विकेटले र दोस्रो खेलमा १६ रनले हराएको थियो । सोही सिरिजको अनुभव र जितले नेपाली खेलाडीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।
टोलीमा हेरफेर
टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टोलीमा केही परिवर्तन गरेको छ ।चोटका कारण तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्सन झा टी-२० सिरिजमा सहभागी हुने छैनन् । उनीहरूको स्थानमा टोलीमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई मौका दिइएको छ । यी नयाँ खेलाडीले कस्तो प्रदर्शन गर्छन् भन्नेमा सबैको नजर रहनेछ ।
टी-२० सिरिजका लागि नेपाली टोली: रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह, आरिफ शेख ।








