धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण

भोजपुर । षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ ।

बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो ।

षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।

करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ । वडाले पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्म सँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताए ।

पहिलाको पुरानो गुम्बा २०७२ सालको भूकम्पले जीण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उनको भनाइ छ । ‘हामीले बौद्ध धर्म, संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकास गर्न गुम्बा निर्माण गरेका छौँ’ वडाध्यक्ष शेर्पाले भने, ‘यो क्षेत्रमा धेरै बौद्ध धर्मलम्बीको बसोबास छ । भूकम्पले पुरानो गुम्बा जीर्ण हुँदा धेरै समस्या थियो । वडाको धेरै मेहनत पश्चात् यहाँ गुम्बा बनाउन सफल भएका छौँ ।’

गुम्बा निर्माणको लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पा जानकारी दिए । भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको स्थानीयवासी फुर्लाक्पा शेर्पाले बताए ।

वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका एक सय २० बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उनको भनाइ छ । गुम्बामा प्रत्येक महिनामा सबै जना भेला भएर पूजाआजा गर्ने चलन रहेको शेर्पाले बताए ।

‘विगतको कच्ची गुम्बा भूकम्पले जीर्ण बनेको थियो’ उनले भने, ‘गुम्बा जीर्ण हुँदाभित्र पसेर पूजाआजा गर्न जोखिम थियो । अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि हामीलाई सहजता भएको छ । गाउँका सबै जना भेला भएर एकसाथ पूजा गर्न सकिन्छ ।’

नयाँ गुम्बा बनेपछि दर्शन गर्नको लागि विभिन्न ठाउँबाट मानिस आउने गरेको उनले जानकारी दिए । यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवद्र्धनका लागिसमेत टेवा पुग्ने शेर्पाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =