आइसीसी विश्वकप लिग-२

नेपाल स्कटल्याण्डसँग २ रनले स्तब्ध

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले कडा प्रतिस्पर्धा गरे पनि स्कटल्याण्डसँग २ रनले हार बेहोरेको छ ।

आइतबार राति स्कटल्याण्डको फोर्थहिल ग्राउन्डमा सम्पन्न खेलमा ३२४ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल निर्धारित ५० ओभरमै ३२१ रनमा अलआउट भयो ।

नेपालका लागि भीम सार्कीले ७३ रनको उत्कृष्ट पारी खेले भने सोमपाल कामीले ६७, दीपेन्द्र सिंह ऐरीले ५६ रन जोडे । सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेल र तल्लो क्रमका करण केसीले १७/१७ रन बनाए भने गुलशन झाले ११ रन थपे । तर, अन्तिम ओभरमा आवश्यक रन बनाउने दवावमा नेपाल अलआउट हुन पुग्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२४ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले १०२ रनको शतकीय इनिङ्स खेले । उनले ११४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै, माइकल लिस्कले अविजित ९६, चार्ली टियरले ६८ रन बनाए ।

नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए भने ललित राजवंशीले १ विकेट झारे । यस हारसँगै नेपालले सिरिजको तेस्रो जित हात पार्ने अवसर गुमाएको छ ।

यसअघि पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले रोमाञ्चक जित दिंदै सिरिजमा सकारात्मक सुरुवात गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ५ विकेटको सहज जित निकालेको थियो । अब नेपालले सिरिजको चौथो खेलमा मंगलबार नेदरल्याण्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =