विश्वकप लिग-२: बलियो टोली नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि ऐतिहासिक र सनसनीपूर्ण एक विकेटको जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।
स्कटल्यान्डविरुद्धको रोमाञ्चक जितले उच्च आत्मविश्वास बटुलेको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिँदै नेदरल्यान्ड्सलाई स्तब्ध पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित यो त्रिदेशीय शृंखला नेपालका लागि निकै महत्वपूर्ण छ । सात महिनापछि क्रिकेटको लामो ढाँचा (एकदिवसीय) मा फर्किएको नेपाललाई लिग-२ मा आफ्नो स्थान सुरक्षित राख्न र विश्वकप छनोटको ग्लोबल चरणमा पुग्ने सम्भावनालाई जीवन्त तुल्याउन आगामी खेलहरू जित्नैपर्ने चर्को दबाब छ ।
लिग-२ को नियमअनुसार शीर्ष चारमा रहने टोलीले सोझै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने अन्तिम चारमा रहने टोलीले प्लेअफमार्फत अर्को मौका पाउनेछन् । नेपाल अहिले लिग-२ को अंक तालिकामा १३ खेलबाट ८ अंकसहित पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा संघर्ष गरिरहेको छ ।
आजको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स २० खेलबाट २६ अंकसहित तालिकाको दोस्रो स्थानमा बलियो स्थितिमा छ भने आयोजक स्कटल्यान्ड १७ खेलबाट २० अंकसहित चौथो स्थानमा छ । शीर्षस्थानमा अमेरिका (२० खेलबाट २८ अंक) छ भने तेस्रोमा ओमान (२४ अंक), पाँचौंमा क्यानडा (२० अंक), छैटौंमा नामिबिया (१४ अंक) र आठौं स्थानमा संयुक्त अरब इमिरेट्स (युएई) (१६ खेलबाट ६ अंक) रहेका छन् ।
स्कटल्यान्डविरुद्धको जितले महत्वपूर्ण २ अंक जोडेको नेपाललाई अब लिग-२ मा टिकिरहन र शीर्ष चारको दौडमा सामेल हुन आजको खेलमा पनि जित निकाल्नुपर्नेछ ।








