पञ्जाबलाई ८ विकेटले हराउँदै आरसिबी ९ वर्षपछि फाइनलमा

काठमाडौं । रोयल च्यालेन्जर्स बंगलोरु (आरसिबी) नौ वर्षको अन्तरालपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको रोमाञ्चक पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई ८ विकेटले सहजै पराजित गर्दै आरसिबीले उपाधि भिडन्त पक्का गरेको हो ।
पञ्जाबले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य आरसिबीले विस्फोटक ब्याटिङ गर्दै मात्र १० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । आरसिबीको जितमा ओपनर फिल साल्ट नायक बने । उनले २७ बलको सामना गर्दै ६ चौका र ३ छक्कासहित अविजित ५६ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले ।
त्यस्तै, आरसिबीका लागि मयंक अग्रवालले १९ रन जोडे भने रजत पाटीदार १५ रनमा अविजित रहे । स्टार ब्याट्सम्यान विराट कोहली भने १२ रन बनाएर आउट भएका थिए । पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले एक-एक विकेट लिए ।
यसअघि, महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाब किङ्सले आरसिबीका बलरहरूको कसिलो बलिङसामु खुलेर खेल्न सकेन । पञ्जाब १४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०१ रनमा समेटिएको थियो ।
पञ्जाबका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए । त्यस्तै, अज्मतुल्लाह ओमारजाई र प्रभसिमरन सिंहले समान १८-१८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आरसिबीको धारिलो बलिङ आक्रमणमा जोश हेजलवुड र सुयश शर्माले उत्कृष्ट प्रदर्शन गरे । दुवैले समान ३-३ विकेट लिए। यश दयालले २ विकेट हात पार्दा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक-एक विकेट आफ्नो नाममा लेखाए ।
यो सानदार जितसँगै आरसिबीले फाइनलमा स्थान सुरक्षित गरेको छ । पराजित भएको पञ्जाब किङ्सले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटर खेल खेल्नुपर्नेछ ।








