आरसीबी २२८ रनको विशाल लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा प्रवेश

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै तेस्रो ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै प्लेअफको पहिलो चरण क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ । मंगलबार लखनऊ सुपर जायन्ट्सविरुद्धको निर्णायक भिडन्तमा बेंगलुरुले २२८ रनको चुनौती ४ विकेट गुमाउँदै पार गर्‍यो ।

इकाना क्रिकेट स्टेडियममा भएको यो उच्च स्कोरको खेलमा बेंगलुरुले टस जितेर पहिला बलिङ रोजेको थियो । लखनऊले कप्तान ऋषभ पन्तको विस्फोटक प्रदर्शनमा ३ विकेट गुमाउँदै २० ओभरमा २२७ रनको विशाल योगफल खडा गर्‍यो। पन्तले ६१ बलमा अविजित ११८ रन बनाए, जसमा ११ चौका र ८ छक्का सामेल थिए । मिचेल मार्शले पनि ६७ रनको उल्लेखनीय योगदान दिए ।

जवाफी ब्याटिङमा बेंगलुरुका लागि ओपनर विराट कोहलीले आक्रामक ब्याटिङ गर्दै ५४ रन बनाए । यो उनको यो सिजनको आठौं र आईपीएल करियरको ६३औं अर्धशतक हो, जससँगै उनले डेविड वार्नरको ६२ अर्धशतकको कीर्तिमान तोडेका छन् ।

तर, खेलको निर्णायक मोड कप्तान जितेश शर्माले दिए । उनले ३३ बलमा अविजित ८५ रनको आतिशी पारी खेलेर टोलीलाई जितको नजिक पुर्‍याए । मयंक अग्रवालले पनि उनीसँग अविजित ४१ रन बनाएर १०७ रनको अविजित साझेदारी गर्दै लक्ष्यमा सहज ढंगले पुग्न मद्दत गरे ।

यस नाटकीय जितसँगै रोयल च्यालेन्जर्स बेंगलुरु अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब टोलीले मे २९ मा पञ्जाब किङ्सविरुद्ध क्वालिफायर-१ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =