जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छ : देवेन्द्र दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताएका छन् ।
ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी रहेका कामहरु चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
उनले प्राविधिक रुपमा समस्याहरू आउँदा निर्माण सम्पन्न हुन समय लागेपनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए । २०७८ सालदेखि निर्माण सुरु भएपनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उनको भनाई थियो । निरीक्षणकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री दाहालले मनसुन सुरुभएसँगै मुख्य राजमार्गहरूमा आउने समस्या समाधानका लागि पूर्व तयारीका कामहरु भइरहेकोसमेत जानकारी दिए ।
उनले विपद् न्यूनीकरणका लागि स्थानीयवासी र सवारी चालकलाई सतर्क गराउनेलगायत उपलब्ध स्रोत साधनलाई स्ट्याण्डवाई राखेर समस्या आए लगत्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखेको जानकारी दिए ।

उनले भने ‘यो २०७८ देखि ठेक्का लागेर सुरु भएको काम हो । यसको म्याद सकिएको धेरै भैसकेको छ । यसको अन्तिम म्याद भनेको गत पुस ८ गतेसम्म थियो त्यतिखेर पनि सम्पन्न हुनसकेन । यो हाम्रो नेपालको पहिलो इपीसी मोडलबाट गरिएको काम हो । यसका प्राविधिक समस्या पनि नयाँ नै हुन् । त्यसकारण प्राविधिक रुपमा केही ल्याकेजहरु रहेको हुनुपर्छ र बिचमा आएका समस्या समाधानका कारण केही पर्खनु पर्यो । फेरि हामीले माथि उठिसकेको कामलाई पुनः तलैबाट सुरु गर्नुपर्ने अवस्थाका कारण ढिलो भयो । तरपनि ढिलै भएपनि परिणाम राम्रै आएको छ । यो जेठको अन्तिम सम्ममा सम्पन्न गरेर असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा छौं । मनसुन हुँदा राजमार्गहरूमा समस्या त छन् । दाउन्नेमा हामीले कटिङको काम गर्नुपर्ने अवस्थाका कारण ढिलो भएको हो । निश्चित समय गाडी रोकेरै भएपनि हामीले कटिङको काम सकेका छौं ।
ठुलै पानी पर्याे भने सडक सामान्य अवरोध हुनपनि सक्छ । अवरोधै हुँदैन भनेर भन्न सकिन्न । तरपनि अहिले हामीले सहज बनाइसकेका छौं । सँगसँगै निर्माण व्यवसायी र निर्माण कम्पनीलाई पनि तयारी अवस्थामा बस्न भनेका छौं । हामीले आफ्ना हेभि इक्युपमेन्टहरु पनि सम्बन्धित क्षेत्रमा केन्द्रित गरेर राखेका छौं । यदि समस्या भइहाल्यो भने पनि तुरुन्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखिएको छ । त्यसैगरी बिपी राजमार्गलाई प्राथमिकतामा राखेका छौं । बिपी राजमार्गको काम हामी आफैँले सुरु गरेको र पछि स्रोत सुनिश्चित भइसकेपछि ठेक्का प्रक्रिया अगाडि बढाएका छौं । ठेक्काको काम चलिनै रहन्छ । यदि अवरोध भएमा हटाउने काम पनि सँगसँगै हुन्छ । त्यसरी तयारी गरेका छौं ।
कान्ति लोकपथ, मेची राजमार्गलगायतका राजमार्गहरू र मुख्यरुपमा पृथ्वी राजमार्गमा पनि समस्या आउनसक्छ भनेर पूर्वतयारीका कामहरु गरिरहेका छौं । स्थानीयबासीलाई सतर्क गराउने र अर्को कुरा गाडीहरू केही समस्या आएमा सर्तक गराउने र साधन स्रोतलाई ठाउँ ठाउँमा स्ट्याण्डवाई राखेर समस्या आउनेवित्तिकै समाधान गर्नेगरि राखेका छौं । जस्तै पहिरो आयो भने पहिरो हटाउने गरि र बाढी आयो भने त्यसबाट जोगाउनेगरि कामहरु भइरहेका छन् ।’
उनले विभिन्न राजमार्गहरूमा निर्माणकार्य जारी नै रहेकाले सम्बन्धित निर्माण कम्पनीलाई पूर्व तयारी अवस्थामा बस्न आग्रह गरेको बताए ।










