हैदराबादको सनसनीपूर्ण जित, आरसीबी ४२ रनले पराजित

काठमाडौं । प्लेअफको दौडबाट पहिले नै बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४२ रनले पराजित गर्दै प्रतियोगिताबाट सानदार विदाइ लिएको छ ।
लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको आरसीबीलाई हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रनको विशाल योगफल दिएको थियो । जवाफमा आरसीबी १९.५ ओभरमै १८९ रनमा अलआउट भयो ।
हैदराबादका लागि ईशान किशनले ४८ बलमा अविजित ९४ रनको विस्फोटक पारी खेले । उनले ७ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए । अभिषेक शर्मा (३४), अनिकेत वर्मा (२६) र हेनरिक क्लासन (२४) रन बनाएर किशनलाई राम्रो साथ दिएका थिए । बलिङतर्फ आरसीबीका रोमारियो शेफर्डले २ विकेट लिए ।
बेंगलुरुको जवाफी पारीमा फिल सल्टले ६२ रन र विराट कोहलीले ४३ रन बनाए । तर, अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा टोलीले ठूलो लक्ष्यको पछ्याइ सफल पार्न सकेन । हैदराबादका कप्तान प्याट कमिन्सले ३ विकेट लिए भने हर्षल पटेल र ईशान मलिंगा ले २-२ विकेट हात पारे ।
यस जितसँगै हैदराबादले प्रतियोगितामा आफ्नो अन्तिम खेल जित्दै सकारात्मक सन्देश दिएको छ भने आरसीबीको प्लेअफ यात्रामा दबाब थपिएको छ ।








