केएमसीको ऐतिहासिक सफलता : ब्रेन डेड अंगदान सफल

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको छ ।

केएमसी अस्पताललाई यसलाई आफ्नो इतिहासमा एउटा ऐतिहासिक सफलता भनेको छ ।

यो उपलब्धि नेपालकै सन्दर्भमा छैटौँ पटक मात्र भएको दुर्लभ र संवेदनशील प्रक्रिया हो, जसमा ब्रेन डेड घोषित व्यक्तिबाट जीवनदायी अंगहरू— कलेजो (लिभर) र दुईवटा मिर्गौला (किड्नी)— दान गरिएका हुन् ।

मृतक १८ वर्षीय दोर्जे मान तामाङ धादिङ जिल्लाको गजुरी गाउँपालिका–७ निवासी थिए । काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका क्रममा चिकित्सकीय परीक्षणपछि ब्रेन डेड घोषणा गरिएको थियो । त्यसपछि, उनका बुबा र दाजुको सहमतिमा अंगदान प्रक्रिया सम्पन्न गरिएको हो ।

केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो । ती अंगहरू दुईजना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी प्राप्त भएको छ ।

यो उपलब्धि केएमसीको चिकित्सा सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रतिविम्ब हो । यसले केएमसीलाई अंग प्रत्यारोपण सेवामा अग्रपंक्तिमा उभ्याएको छ । समग्र नेपाली स्वास्थ्य प्रणालीमा अंगदानबारे जनचेतनामा समेत सकारात्मक प्रभाव पारेको छ ।

केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो ।

केएमसी डा. शर्माको स्वामित्वमा रहेका प्रतिष्ठित संस्थाहरूमध्ये एक हो, जसलाई उनले चिकित्सा सेवामार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन् ।

अब लिभर ट्रान्सप्लान्टतर्फ तयारी

केएमसीले अब लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवनरक्षक शल्यक्रिया सञ्चालन गर्न तीव्र तयारी गरिरहेको छ ।

आवश्यक पूर्वाधार निर्माण, दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन, र अत्याधुनिक उपकरणहरूको समायोजन तीव्र गतिमा अगाडि बढिरहेको केएमसीले जनाएको छ ।

यो पहलले नेपाली चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ, जसले गम्भीर अवस्थाका बिरामीहरूलाई नयाँ जीवन दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =