महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनविरुद्ध मैदानमा उत्रँदै नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज दोस्रो जितका लागि बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डमा बिहीबार दिउँसो साढे १२ बजे सुरु हुने खेलमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ ।

यसअघि समूह चरणको पहिलो खेल हङकङसँग वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्दै सशक्त पुनरागमन गरेको थियो । त्यही जितको आत्मविश्वासलाई आधार बनाएर नेपाल दोस्रोपटक बहराइनको सामना गर्न गइरहेको हो ।

अर्कातर्फ बहराइन भने अघिल्लो हारको बदला लिन सक्ने मौका खोज्दै मैदानमा उत्रिने तयारीमा छ । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्याण्ड, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) महिला टोलीहरू यस प्रतियोगितामा सहभागी छन् ।

नेपालले प्रतियोगितामा अगाडि बढ्न आजको खेललाई निर्णायक मानिरहेको  छ। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीले बलिङ र फिल्डिङमा सुधार गर्दै बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । टी-२० विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालले पहिलो पटक महिला टी-२० विश्वकपमा स्थान बनाउन चाहेको छ । यसका लागि नेपाललाई लिग चरणमा शीर्ष स्थान हासिल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =