डोटीमा मिनिट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा बुधबार बिहान भएको मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक (ना.प. ०१–००१ ख ३४२८) अनियन्त्रित भई करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमध्ये ट्रक चालकको पहिचान बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामीको रूपमा खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माले जानकारी दिए । बाँकी दुई जनाको नाम भने हालसम्म खुल्न सकेको छैन ।
दुर्घटनापछि ट्रक र सामानको च्यापेटामा परेकाले शवहरू निकाल्न कठिन भइरहेको प्रहरीको भनाइ छ । ‘मानवशक्ति मात्रले निकाल्न नसक्ने अवस्था भएकाले डोजर प्रयोग गरेर उद्धार गर्न लागिएको छ,’ एसपी शर्माले बताए । दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। प्रहरी अनुसन्धान अघि बढिरहेको जनाइएको छ ।








