नेपालको तथ्यांक सम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १० औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ ।
नेपालको प्रमुख क्षेत्रहरू तथा प्रवृत्तिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्याङ्कहरूको यस संग्रहले पाठकहरूलाई विभिन्न क्षेत्रगत विषयहरूमा गहिरो अन्तर्दृष्टि प्रदान गर्ने जनाइएको छ ।
डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ । पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरू, पूर्वाधार र संचार, सामाजिक आयामहरू, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरू तथा ६४ उपखण्ड समेटिएका छन् ।
यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.स २०७२ सालको भूकम्प र कोभिड–१९ महामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ ।
पुस्तकको मूल्य रु. ५०० तोकिएको छ । पाठकहरूका लागि ‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तक मा खरिदका लागि उपलब्ध हुने जनाइएको छ भने पुस्तकको वितरण साझेदार कथालय रहेकोछ ।
प्रक्षेपण सम्झौताको रूपमा, यसमा निश्चित समयको लागि ३० प्रतिशत छुट पनि उपलब्ध रहेको जानकारी दिइएको छ ।








