शिक्षकहरूलाई सरकारको अनुरोध- प्रदर्शन रोकी कक्षा दशको उत्तरपुस्तिका जाँच्न फर्किनु

काठमाडौँ । सरकारले काठमाडौँ केन्द्रित आन्दोलनरत शिक्षकहरूलाई प्रदर्शन रोकी कक्षा दशको उत्तरपुस्तिका जाँच्न आ–आफ्नो काममा फर्किन आह्वान गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

विभिन्न मागहरू राखी नेपाल शिक्षक महासंघको आह्वानमा हाल भइरहेको प्रदर्शनप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल शिक्षक महासंघले उठाएका मागहरूप्रति नेपाल सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवादलाई निरन्तरता दिने उनले बताए ।

संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतको प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको उनले जानकारी दिए ।

बैठकमा उक्त विधेयक छिटो पारित गर्न नेपाल सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताए ।

हाल विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने समय रहेको र माध्यमिक शिक्षा परीक्षा कक्षा दशको उत्तरपुस्तिका परीक्षण गर्ने एवं कक्षा बाह्रको परीक्षा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू गर्नुपर्ने भएको हुँदा प्रदर्शनका कार्यक्रम रोकी विद्यार्थी र अभिभावकको हितलाई मध्यनजर गरी शिक्षकहरूलाई आ–आफ्नो काममा फर्किन आह्वान गर्ने निर्णय भएको उनले बताए ।

सोको लागि आवश्यक वातावरण बनाउन नेपाल शिक्षक महासंघलाई अनुरोध गर्ने पनि उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =