टिप्पणी

पूर्वराजालाई देखाएर अराजक गतिविधि (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय चलायमान छन् । प्रजातन्त्र दिवसको दिन आफूलाई साथ दिन आग्रह गरेका उनी त्यसपछि रोकिएका छैनन् । उनले आफ्ना समर्थकलाई उचालेर आफ्नो पक्षमा माहौल बनाउन लागि परेका छन् । कहिले पोखरा त, कहिले काठमाडौंमा पूर्व राजाका समर्थकले आन्दोलन गरिरहेका छन् ।

यो व्यवस्था नै उल्टाउने र पूर्वराजालाई फेरी राजगद्दीमा विराजमान गराउने तयारी स्वरूप उनका समर्थकले विभिन्न चरणमा आन्दोलन गरिरहेका छन् । जसअन्तर्गत पूर्वराजालाई काठमाडौंमा स्वागत गर्न त्रिभुवन विमानस्थलमा आज राजावादीको भिड लाग्ने बताइएको छ ।

पोखराबाट काठमाडौँ आउन लागेका पूर्व राजालाई नारायणहिटी लग्ने भन्दै राजावादीहरू उनको स्वागतको लागि विमानस्थलमै पुग्ने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न १० हजार मानिसहरु एयरपोर्टदेखि निर्मल निवाससम्म तैनाथ हुने राजावादीहरूको दाबी छ । पोखराबाट फर्केपछि पूर्व राजालाई जुलुससहित चक्रपथ हुँदै महाराजगन्जस्थित निर्मल निवास पु¥याउने तयारी गरिएको छ ।  यस घटनालाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रहरी स्रोतका अनुसार करिब १० हजार समर्थकहरू उक्त स्वागत कार्यक्रममा सहभागी हुने सम्भावना छ । बिहानैदेखि राजधानीका मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालित भएका छन् । बर्दीधारी तथा सादा पोसाकमा रहेका सुरक्षाकर्मीहरू संवेदनशील क्षेत्रहरूमा तैनाथ गरिएको प्रहरीले जनाएको छ ।

यति बेला राजा फर्काउने भन्दै टुटफुट भएका राजावादीहरू पनि एक ढिक्का भएका छन् । अहिले राजसंस्था बोक्ने पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राजावादी अभियन्ता दुर्गा प्रसाईँसम्मका व्यक्तिहरू एक ठाउँमा उभिएका छन् ।

राजालाई फेरी सत्तामा फर्काउन राजावादी मात्रै होइन, पूर्वराजा ज्ञानेन्द्र शाह नै मैदानमा आएका छन् । उनको देश दौडाहाले यही बताउँछ । उनी जनतालाई उचालेर फेरी गद्दीमा फर्किने तयारी गरिरहेका छन् । पूर्व राजाका गतिविधिबाट भने राजनीतिक दलहरू आजित छन् । पुर्वराजाले संविधान विपरीतका गतिबिच गरेको भन्दै शीर्ष नेताहरूले उनलाई चेतावनी नै दिन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेताहरूले उनको आलोचना गरेका छन् । शीर्ष नेताहरूले देशमा लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताइरहेका छन् । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले त उनलाई पार्टी खोलेर चुनाव जितेर आउन चुनौती नै दिएका छन् ।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भने पूर्व राजालाई अन्य देशमा भएको भए जेल हाल्ने बताएका छन् । उनले नेपालमा उदार लोकतन्त्र भएकै कारण उनलाई संविधान बमोजिम सुरक्षा र सेवा दिएको बताए । उनले संविधान भन्दा बाहिर गए राम्रो नहुने चेतावनी पनि दिएका छन् ।

उसो त, पूर्वराजाको नाम लिएर देशमा अराजक गतिविधि पनि भइरहेका छन् । जनतामा छाएको निराशामा घ्यू थप्ने काम राजावादीहरूबाटै भइरहेको छ । सरकारका काम कारबाहीबाट आजित भएका नागरिकलाई राजाका पक्षमा माहौल बनाउन केही व्यक्तिहरू सफल पनि भएका छन् ।

देशमा बढ्दै गएको भ्रष्टाचार र कुशासनका विरुद्धमा नागरिकले उठाएको आवाजलाई राजाको पक्षमा जनता भन्ने खालको भाष्य बनाइनु राम्रो होइन ।

नागरिकले सुशासन चाहेका हुन्, राजसंस्था चाहेका होइनन् । नागरिकले लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन चाहेका हुन्, कुनै व्यक्तिलाई श्रीपेच लगाएर राजगद्दीमा बसाउन चाहेका होइनन् । पूर्वराजाका नाममा भइरहेका अराजक गतिविधि नियन्त्रण गर्न सरकारले ठोस योजना बनाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =