पहिलोपल्ट फ्रिस्टाइल चेस हुँदै

काठमाडौँ । नेपाल पूर्वच्याम्पियन मोनालिसा खम्बुद्वारा स्थापित हिमालयन चेस एकेडेमीले नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता गर्ने भएको छ ।
एकेडेमीको पहिलो वार्षिकोत्सवको अवसरमा हिमालयन चेस एकेड्मीले हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप आगामी चैत १ गते आयोजना गर्न लागेको हो ।
फ्रिस्टाइल चेसलाई अट्याकिङ खेल र सिद्धान्त बिना खेलिने खेलका रूपमा लिइन्छ । आयोजक हिमालयन चेस एकेडेमीले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । समूहका खेलहरू थापाथलीस्थित एकेडेमीको हल र फाइनल्स रोयल सिंगी होटलमा हुने आयोजकले जनाएको छ ।
पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउन फ्रिस्टाइल चेस सुरु गरेका हुन् ।
सोही किसिमको खेल शैलीलाई हिमालयन चेस एकेडेमीले नेपालमा पनि आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बुले बताइन् । खुम्बुले परम्परागत चेसप्रति जेन जी ९नयाँ पुस्ता० ले चासो नदिइएको अवस्थामा यस किसिमको खेल सुरुआत भएको उल्लेख गरिन् । त्यसैले पनि यस किसिमको खेल नेपालमा पनि सुरु गरिएको उनको भनाइ छ ।
च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बुले फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा र सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी खेलाइने बताए । समूहका विजेता फाइनल्समा प्रवेश गर्ने र उनीहरूले नकआउटको आधारमा चैत १ गते होटल रोयल सिंगीमा हुने फाइनल्स खेल्ने तय छ ।
पराजित खेलाडीका लागि पनि प्लेट च्याम्पियनसिप खेल्ने एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बुले बताइन् । फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो । फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन असफल खेलाडीसँगै अरु चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन् ।
दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपियाँ रहेको छ ।
फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउनेछन् । १६ स्पर्धासमावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्नेछन् ।
ब्लिज कपमा शीर्ष १०, महिलासँगै गल्र्स र ब्वइजका यू ८, यू १०, यू १२, यू १४, यू १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् । एकेमेडीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो ।








