‘नेपाल विजनेस समिट काठमाडौँमा हुँदै’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजनामा काठमाडौँमा अन्तरराष्ट्रियस्तरको बिजनेस समिट हुने भएको छ ।

दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वको उल्लेख्य उपस्थितिमा पहिलो संस्करणको समिट पनि काठमाडौँमै सम्पन्न भएको थियो ।

समिटमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषय विज्ञ, अर्थविद्, बैंकिङ क्षेत्रका ज्ञाता, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्र सम्बद्ध अग्रणी संस्थाका नेतृत्वगण, बैङ्क तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, नवप्रवद्र्धनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा सङ्लग्न युवा, वैदेशिक रोजगारबाट फर्केका उद्यमशील जनशक्ति तथा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीसहित पाँच सयभन्दा बढीको सहभागिता रहने एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले जानकारी दिए ।

नीति निर्माण तहका सरकारी अधिकारीहरू, उद्योग–व्यवसाय सम्बद्ध सङ्घ/संस्थाका प्रतिनिधि, औद्योगिक घरना, प्राज्ञिक व्यक्तित्व, युवा तथा महिला उद्यमीबिच सघन छलफल, बहस तथा अन्तरक्रियालगायतका कार्यक्रम गरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्‍ययाउने उद्देश्यले समिट आयोजना गर्न लागेका संयोजक गैरेले स्पष्ट गरे ।

उनका अनुसार व्यापार व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने स्थापित संस्था नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा हुनलागेको समिटबाट प्राप्त निष्कर्षसहितको सुझाव प्रतिवेदन तीनै तहका सरकारसमक्ष पेश गर्ने र सुझाव कार्यान्वयनका बारेमा निरन्तर अनुगमन गरिने छ ।

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित समग्र निजी क्षेत्रलाई उत्साहित र चलायमान बनाउने उद्देश्यले आर्थिक, बैङ्किङ, उद्योग, व्यवसाय, सूचना प्रविधि, कृषिलगायतका व्यावसायिक क्षेत्रमा देखिएका जल्दाबल्दा समस्या र समाधानका विषयमा घनिभूत छलफल तथा अन्तरक्रिया गरी समिटमार्फत प्राप्त निष्कर्षसहितको सुझाव प्रतिवेदन कार्यान्वयनका लागि सरोकार राख्ने सरकारी निकायमा पेश गरिने स्पष्ट गरे ।

एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबिचको गतिशील साँघु बनाइ आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगीकरण, कृषि, पर्यटन, जलविद्युत्, वन पैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसायलगायतका क्षेत्रमा लगानी विस्तारसहित दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =