खबर दिनभर : १ करोड बुझाएर रवि रिहा,गलत गर्नेले सजाय भोग्नुपर्ने गगनको भनाई,इन्दूको कप्तानीमा टोली घोषणा

माघ १८ गते प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १८ गते संसद्मा सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आफूले प्रधानमन्त्रीलाई भेटेको बताउँदै उनले भेटमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कुरा बताएको उनले बर्तौलाले बताए ।

‘हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी भएको छ,’उनले भने,‘प्रधानमन्त्रीले मसँगको भेटमा पहिलो दिन बोल्ने बताउनु भयो ।’

एक करोड धरौटी रकम बुझाएपछि रिहा भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले अदालतले मागेको एक करोड धरौटी बुझाएका छन् ।

आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाशीधश प्रल्हाद कुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत एक करोड धरौटी रकम बुझाएका हुन् ।

यसअघि लामिछानेलाई जिल्ला अदालत कास्कीले पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रतिमा अनावरण कार्यक्रममा महामन्त्री थापाले गलत गर्ने व्यक्ति जति नै शक्तिशाली भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

देशमा विधिको शासन कायम हुनुपर्ने तथा सबै क्षेत्रमा सुशासन कायम हुनुपर्नेमा जोड दिँदै उनले भने,“प्रत्येक दिन एउटा नयाँ काण्डका बारेमा चर्चा बाहिर आउँछ । जस्तोसुकै काण्ड आए पनि विधिको शासन हुनुपर्छ, खराब गर्ने मान्छे, गलत गर्ने मान्छे जुनसुकै जाति, धर्म र पार्टीको भए पनि कारबाही हुनुपर्छ । राष्ट्रपतिले गल्ती गरे पनि प्रधानमन्त्रीले गल्ती गरे पनि दण्ड पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन ।”

महामन्त्री थापाले गलत काण्ड गर्नेलाई यो वा त्यो बहानामा छोडिनु हुँदैन भन्दै यसो गरेमा मात्र विधिको शासन आउने, सुशासन कायम हुने तथा जनतामा विश्वास जाग्ने बताए ।

उनले भने,“अब नेपालको एउटै मुद्दा हुनुपर्छ, जो प्रधानमन्त्री भए पनि प्रजातन्त्र जोगाउँछौँ । दायाँबायाँ हुन दिन्नौँ, यो व्यवस्था तलमाथि हुन दिन्नौँ । यो व्यवस्थाभित्र अब आत्मसम्मानका साथ जनताले गरिखानसक्ने अवस्था कसरी बनाउने भनेर लाग्नुपर्छ । यो कुरा देश चलाउने मान्छेले सोच्नुपर्छ, यसमै प्रतिस्पर्धा गर्नुपर्छ ।”

कांग्रेसले यतिखेर २०८४ भनेर होइन, काम गरेर देखाउनुपर्ने महामन्त्री थापाले बताए । देश चलाउनेले अब जनताको आयस्तर कसरी उकास्ने र देशभरका बेरोजगारलाई रोजगार कसरी दिने भनेर लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सङ्घीय सांसद दुर्लभ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पत्रकार हरिहर बिरहीलगायतले कांग्रेसले समय खेर नफाली जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री थापाले स्व मीनकुमारी राणाको प्रतिमा अनावरण गर्नुका साथै प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थ, वरिष्ठ पत्रकार श्री आचार्य, बक्सिङ खेलाडी प्रचण्ड शर्मालाई पुरस्कार एवं सम्मान प्रदान गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवीर राणा र महासचिव रवि राणाले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे ।

सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : वर्षमान पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताएका छन् ।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीति परिवर्तन हुन नहुने बताए। “हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ,” माओवादी केन्द्रको अर्थ तथा योजना विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “तर, नीतिगत निरन्तरता भयो भने नतिजा आउँछ ।”

उपमहासचिव पुनले नीतिगत निरन्तरताकै कारण ऊर्जा र सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत उपस्थिति जनाउन सफल भएको उदारहण प्रस्तुत गरे ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भएका बेला २०६५ सालमा ऊर्जा क्षेत्रमा लगानीको स्रोत नखोज्ने, १० वर्षसम्म आयकरमा छुट दिने तथा पब्लिक, प्राइभेट, पार्टनरशिप (पिपिपी) मोडलमा आयोजना विकास गर्ने नीति ल्याएको र त्यही कारण ‘लोडसेडिङ’ अन्त्य भएर भारत हुँदै बङ्गलादेशसम्म विद्युत् निर्यात गर्ने वातावरण बनेको उनले उल्लेख गरे ।

“अठार घण्टा लोडसेडिङ हुने अवस्थाबाट हामी अहिले बढी भएको बिजुली क्षेत्रीय बजार (भारत–बङ्गलादेश) मा निर्यात गर्ने अवस्थामा पुगेका छौँ”, उपमहासचिव पुनले भने,“आन्तरिक उत्पादनले १५ प्रतिशत मात्र धानिरहेको नेपाली सिमेन्ट उद्योग अहिले आत्मनिर्भर भएर भारतीय बजारमा आफ्नो हिस्सा लिन सफल भएको छ ।”

विकास आयोजनामा ढिलाइ हुनुमा सरकारलाई मात्र दोष दिनु गलत हुने उल्लेख गर्दै उपमहासचिव पुनले संसद्, कर्मचारीतन्त्र, निर्माण व्यवसायी, नियामक निकाय, न्यायालय, सञ्चारमाध्यम, विकास सम्बद्ध सरकारी एजेन्सी र आमजनता विकासमैत्री हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुशासन विधामा कलम चलाउँदै आउनुभएका पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निस्कर्ष र छलफल शीर्षकमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

यस्तै ‘इन्स्टिच्युट फर गभर्नमेन्ट एन्ड पब्लिक अफेयर्स’ (आइजिपिए) ले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन स्थितिः प्रमुख निष्कर्ष र सुझावहरु तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले ‘पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरुः समस्या र सम्भावित समाधानहरुको पहिचान’ विषयमा प्रस्तुतिकरण दिए ।

कार्यक्रमबाट सङ्घीय संसद्का दुवै सदनमा आयोजनाको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरुलाई सहयोग पुग्ने विश्वास लिइएको माओवादी केन्द्रले जनाएको छ ।

कार्यक्रममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरु हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर–दक्षिण कोशी करिडोर, उत्तर–दक्षिण कालीगण्डकी करिडोर, उत्तर–दक्षिण कर्णाली करिडोर, काठमाडौँ–तराई एक्सप्रेस (वे–फास्ट ट्र्याक) लुम्बिनी क्षेत्र विकास आयोजना, बृहत्तर पशुपति क्षेत्र विकास परियोजना, मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलाशययुक्त परियोजनालगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भएको थियो ।

बेचन झाको मुद्धामा सर्वोच्चको ‘अन्य’ आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्धामा ‘अन्य’ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले आइतबार ‘अन्य’ आदेश जारी गरेको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो । झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ ।

‘जनै हराएको बाहुन’ मा विजय बरालको प्रवेश

नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बराल प्रवेश भएका छन्।

यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए । हालै मात्र नेपालमा ५० करोड माथिको व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का अभिनेता समेत रहेका बरालले ‘जनै हराएको बाहुन’ चलचित्रको लागि लेखिएको स्क्रिप्ट मन परे पछि चलचित्रमा जोडिएको प्रतिक्रिया दिए । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर।के। मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।

यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ’ हुन् भने एसोसियट निर्देशक ‘प्रेम गीत – ३’ का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

चलचित्रका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

धनगढीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । शनिबार राति भाइको कैची प्रहारबाट दाइको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दर्शन खड्काका अनुसार, ३० वर्षीय प्रकाश बोहराले आफ्ना दाइ ३५ वर्षीय लालबहादुर बोहरालाई विवादका क्रममा घाँटीमा कैचीले प्रहार गरेका थिए । राति करिब साढे १२ बजे भएको घटनामा गम्भीर घाइते लालबहादुरलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा लगिएको थियो । तर, चिकित्सकहरूको प्रयासका बावजुद राति २ः ५० बजे उनको मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धानले घटना सामान्य भनाभनबाट सुरु भएको देखाएको छ । विवादको क्रममा आक्रोशित भएका प्रकाशले कैची प्रहार गरेको प्रहरीको भनाइ छ । दाइको मृत्यु भएपछि प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो ।

आइतबार तीन सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ५४, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फण्ड शून्य दशमलव ४८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा बढी वित्त समूह चार दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ८९, होटल तथा पर्यटन शून्य दशमलव २७, लगानी शून्य दशमलव ५०, जीवन बिमा शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन एक दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव ६७ र व्यापार समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

बोटलर्स नेपाल ९बालाजु० लिमिटेड, एनआईसी एसियो डिभेञ्चर ०८२र८३, डोल्टी पावर कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रू ३९ करोड ५३ लाख ७३ हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चार लाख ११ हजार छ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

आइतबार घट्यो सुनको मूल्य

नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश

न्युरोड टिम (एनआरटी) फ्रेण्ड्स क्लवलाई हराउँदै सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आईतवार भएको अन्तिम क्वार्टरफाइनलमा एनआरटीले ‘ए’ डिभिजन प्रतिद्वन्द्वी फ्रेण्ड्सलाई ३–१ को गोलअन्तरमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यससँगै सेमिफाइनलमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

यसअघि संकटा, मच्छिन्द्र र आयोजकको टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा एनआरटी एकपक्षीय रूपमा हाबी भयो । एनआरटीका अञ्जन बिष्टको दुई गोल र रिचर्ड विल्सनले एक गोल गरे । फ्रेण्ड्सका विजय पौडेलले एक गोल गरे । त्यसअघि खेलको १८ औं मिनेटमा एनआरटीले पहिलो अवसरमा नै गोल गर्‍यो ।

अञ्जन बिष्टको गोलबाट एनआरटीले अग्रता लिएको हो । पेनाल्टी बक्सको लेफ्ट साइडबाट एन्जल महर्जनले दिएको उत्कृष्ट क्रसलाई अञ्जनले वान टचमा गोल गरेका हुन् । एक मिनेट पछि नै फ्रेण्ड्सका आशिष सुनामले पेनाल्टी बक्सबाटै गरेको प्रहार एनआरटीका गोलकिपर विशाल सुनारले सफल हुन दिएनन् ।

आशिष चापागाईको पासमा सुनामले एक डिफेन्डरलाई छक्याउँदै गरेको प्रहारलाई विशालले रोकेका हुन् । तर २३ औं मिनेटमा अञ्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए । कृतिषरत्न छुन्जुले राइट साइडबाट दिएको बललाई अञ्जनले हेडमार्पmत जाली चुमाएका हुन् ।

२९औं मिनेटमा फ्रेण्ड्सका आशिष सुनामले करिब २५ यार्डबाट गरेको प्रहार माथिल्लो बारबाट बाहिरिन पुग्यो । एनआरटीले ३६औं मिनेटमा तेस्रो गोल गर्ने अवसर गुमायो । अञ्जन विष्टको पासमा हेनरी पोकु पेनाल्टी बक्सबाट गोल गर्न असफल भए । उनको प्रहार फ्रेण्ड्सका गोलकिपर अभिषेक बरालले पन्च गर्दै रोके ।

फ्रेण्ड्सले पहिलो हाफ सकिन लाग्दा अवसर सिर्जना गरे पनि सफल भएन । पहिलो हाफमा एनआरटीले २–० को अग्रता लियो । दोस्रो हाफको शुरुमा नै एनआरटीले तेस्रो गोल गर्दै फ्रेण्ड्समाथि दबाब बढायो । ४७ औं मिनेटमा रिचर्डले एनआरटीको अग्रता ३–० ले अगाडि बढाएका हुन् ।

करिब ३५ यार्डबाट रिचर्ड विल्सनले बल ड्रिब्लिङ गर्दै एकल प्रयासमा गोल गरे । फ्रेण्ड्सका तीन खेलाडीलाई छक्याएका रिचर्डले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै बललाई जाली चुमाएका हुन् । ५६औं मिनेटमा फ्रेण्ड्सका आशिष चापागाईंले गरेको फ्रिकिक एनआरटीका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिए ।

६४औं मिनेटमा एनआरटीका अञ्जनका ह्याट्रिक गर्ने प्रयास सफल भएन । उनले पेनाल्टी बक्सबाट बाहिरबाट गरेको सशक्त प्रहार फ्रेण्ड्सका गोलकिपर अभिशेक बरालले पन्च गर्दै बाहिर पठाए । लगत्तै एनआरटीका रिचर्डको फ्रिकिक बललाई पेनाल्टी बक्सभित्र रहेका पोकुको हेड फ्रेन्ड्सका गोलकिपर अभिशेकले पन्च गर्दै अर्को संकट टारे ।

७९ औं मिनेटमा एनआरटीका एन्जल श्रेष्ठले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार लेफ्ट फुटेट सट फ्रेण्ड्सका गोलकिपर अभिशेकले नै रोके । ७९ औं मिनेटमा फ्रेण्ड्सका विजय पौडेलले गर्दै गोलअन्तर ३–१ मा छोट्याए । डोकु इजरायलको थ्रु पास नियन्त्रणमा लिएका विजयले एनआरटीका नरेन चौधरीलाई छक्याउँदै बललाई जाली चुमाए ।

यो गोलपछि फ्रेण्ड्सले खेलमा फर्कने प्रयास जारी राख्यो । ८७ औं मिनेटमा विक्रान्त नरसिंह राणाले फ्रेण्ड्सको दोस्रो गोल गर्ने अवसर खेर फाले । आशिष चापागाईंले लेफ्ट साइडबाट दिएको बललाई पेनाल्टी बक्समा अनमार्क विक्रान्तको हेडर सही दिशामा रहन सकेन ।

अतिरिक्त समयमा फ्रेण्ड्सका दीपेश घलेले पनि एनआरटीका गोलकिपर विशालसँग वान भर्सेस वानको अवस्थामा गोल गर्ने अवसर गुमाए । त्यससँगै थप गोल अवसर सिर्जना हुन सकेन र एनआरटीले फ्रेण्ड्समाथि ३–१ को जित निकाल्यो ।

त्रिकोणात्मक टी-२० शृङ्खला : इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा

यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दू रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।

माघ २५ सम्म सञ्चालन हुने खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस्तो छ खेल तालिका

नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने छ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् । यस्तै, नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्ने छ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २१ मा थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड र नेपाल, माघ २३ मा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । यस्तै, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।

इजरायली आक्रमणबाट तीन जनाको मृत्यु

दक्षिणी लेबनानमा आफ्नो घर फर्कन खोजिरहेका लेबनानीहरूको भीडमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४४ जना घाइते भएका छन् ।

लेबनानी सेनाको एकाइहरूले अल–मुफायलेहा क्षेत्रमा इजरायली आक्रमणको सामना गर्यो, जसको परिणामस्वरूप दुई नागरिक र एक लेबनानी सैनिक घाइते भए ।

आइतवार लेबनानी क्षेत्रहरूबाट इजरायलको फिर्ताको लागि ६० दिनको समयसीमा समाप्त भएको छ । इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीचको द्वन्द्व पछि नोभेम्बरको अन्तमा भएको युद्धविराम सम्झौता अन्तर्गत लेबनानी सेनाले लितानी नदीको दक्षिणी क्षेत्र नियन्त्रणमा लिनेछ ।

युद्धविराम सम्झौताको बावजुद, इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको छ, जसमध्ये केही सीमा क्षेत्रमा मृत्यु र घाइते भएका छन् ।

गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको बताएका हुन् ।

इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’ को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने योजना रहेको बताए ।

“इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने ।

“तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए । मलाई थाहा छैन तर त्यहाँ केहि हुनुपर्छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले भने,“यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन्।”

“त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला शनिबार उहाँको उक्त भनाइ आएको हो ।

अटूट समर्थन

ट्रम्प प्रशासनले इजरायललाई ‘अटूट समर्थन’ गर्ने वचन दिएको छ तर मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि दुई हजार पाउण्ड बराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरे ।

“हामीले त्यसलाई छोडिदियौं। हामीले त्यसलाई आज पठाएका छौं,” ट्रम्पले इजरायलले माग गरेका र पूर्ववर्ती सरकारले रोकेका विष्फोटक पदार्थ इजरायलतर्फ पठाइएको पुष्टि गर्दै भने ।

उनले भने,“उनीहरूले त्यस ९विष्फोटक पदार्थ० का लागि पैसा तिरी लामो समयदेखि पर्खिरहेका छन्।” सन् २०२३ को अक्टोबरमा प्यालेष्टिनी इस्लामी समूह ९हमास० ले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले प्यालेष्टिनी भूभागको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ र पूर्वाधारहरू ध्वस्त भएका छन् ।संयुक्त राष्ट्रसङ्घले पुनर्निर्माणमा धेरै वर्ष लाग्ने अनुमान गरेको छ।

गत अक्टोबरमा आफ्नो चुनावी अभियानका क्रममा पूर्व रियल स्टेट डेभलपरसमेत रहेका ट्रम्पले युद्धग्रस्त गाजालाई ‘सही तरिकाले पुनर्निर्माण गरिएमा मोनाकोभन्दा राम्रो’ हुने सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए ।

ट्रम्पका ज्वाइँ तथा ह्वाइट हाउसका पूर्वकर्मचारी जारेड कुश्नरले गत फेब्रुअरीमा इजरायलले गाजालाई सर्वसाधारणको वस्तीका रूपमा खाली गर्न सुझाव दिएका थिए ।

प्यालेस्टिनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । अरब जगत्ले प्यालेस्टिनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयास इजरायलको स्थापनाको समय अर्थात् ७५ वर्षअघि प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको अँध्यारो ऐतिहासिक सम्झनाहरू जगाउनेछ ।

इजरायलले गाजावासीलाई अन्यत्र जान बाध्य पार्ने कुनै योजना नरहेको बताउँदै आएको छ । तर इजरायली सरकारका केही अति दक्षिणपन्थी सदस्यहरूले सार्वजनिक रूपमा गाजावासीहरूले प्यालेस्टिनी भूमि सामूहिक रूपमा छोड्नुपर्ने विचारको समर्थन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =