ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध अदालतमा ठगी मुद्दा दर्ता

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । मोरङ जिल्ला अदालतमा बुधवार अनिलकुमार पोखरेलविरुद्ध ठगी मुद्दा दर्ता भएको हो।
बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
एमाले मोरङ जिल्ला सदस्यसमेत रहेका पोखरेलले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौआलाल चौधरीसँग बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए ।
गत ३१ भदौमा उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न आदेश दिएको थियो ।
ठगीको विवरण सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई जिम्मेवारीबाट हटाएका थिए । उनी गत पुस २५ मा पक्राउ परेका थिए ।
पोखरेलविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी गरिएको छ ।








