जिआइए फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी भदौ २८ देखि हुने

काठमाडौं । जिआइए फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ भदौ २८ देखि हुने भएको छ ।
खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गदै यसै क्षेत्रमा केन्द्रित जिआइए फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ हुने भएको हो । जिआइए फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी नेपालको एक मात्र वृहत प्रदर्शनी हो ।
खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रहरूको उत्साहजनक वृद्धि र विस्तारको पृष्ठभूमिमा, आगन्तुकहरूले उत्पादन तथा सेवाहरू साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन/चयन गर्न सक्नेछन् । गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको छ । जिएआइ फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरू लाई स्थान प्रदान गर्नेछ ।
जिएआइ फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ । जसमध्ये लगभग १५००० व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ । GAI FBH ले होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस र क्यान्टिन, किराना–पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरू; क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ । कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको हो तर उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
एक्सपोको भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्शन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्शन प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ । फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट–अपको पहुँचमा एक्स्पोलाई पुर्याउन “साना व्यवसाय मार्ट” पनि सुरुवात गर्दैछ । यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्छन् । अर्कोतर्फ यी प्रदर्शकहरूले प्रायः दुबै आगन्तुकहरू र सँगी प्रदर्शकहरूका लागि एक्सपोमा आश्चर्य र वाहको तत्व थप्ने विश्वास गरिएको छ ।
होटल रेस्टुरेन्ट, पार्टी प्यालेस, खाजा/खान घर, सडकपेटी का खाजा बिक्रेता र किराना पसलहरू विगत बीस वर्षमा अनपेक्षित रुपमा धेरै बढेका छन् । खाद्य तथा पेय पदार्थ को क्षेत्रमा कुल २५ हजार ५ सय प्रतिष्ठान दर्ता छन् । यसमध्ये २४ हजार ९४० प्रतिष्ठान खाद्यान्न उत्पादनमा संलग्न छन् भने अन्य ५६० प्रतिष्ठान पेय पदार्थ उत्पादनमा संलग्न छन् । खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या मात्रै ९३८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादनमा र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादनमा संलग्न छन् ।
त्यसैगरी, पर्यटक आगमनमा भएको पुनरुत्थान र देशैभरी तारे होटलहरूमा भएको महत्वपूर्ण लगानीले नेपालको आतिथ्य उद्योगले उल्लेखनीय वृद्धि पाइरहेको छ । आगामी केहि वर्षभित्र नै ३ देखि ५ तारे स्तरको २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन् । विगत चार वर्षमा पहिलो पटक पर्यटक आगमनको संख्या १२ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कले पनि यो प्रवृत्तिलाई पुष्टि गर्छ । कोभिड–१९ महामारीपछि पर्यटक आगमनमा भएको सुधारका कारण हालैका वर्षहरूमा, नेपालका लक्जरी होटल सञ्चालकहरूले नाफामा पुनः वृद्धि देखेका छन् ।
खाद्य मूल्य लगातार उच्च हुनुले बजारको बढ्दो माग र विशेष गरी बढ्दो मध्यम वर्ग र नेपाली आप्रवासी श्रमिकहरूको विदेशी रेमिट्यान्सद्वारा संचालित क्रयशक्तिलाई प्रतिबिम्बित गर्दछ । नेपाल सरकारले तेस्रो मुलुकबाट आयात प्रतिबन्ध फुकुवा गरे पनि खाद्य तथा पेय पदार्थको माग अत्याधिक बढेको छ । नेपाल सरकारले आठ देश चीन, इटाली, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी र स्पेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।
व्यापारको प्रचार–प्रसारका लागि GAI FBH २०२४, एक्सपोको रुपमा सबैभन्दा प्रभावकारी प्लेटफर्म हो । यसले ३ दिनमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष बैठक गर्न अवसर दिन्छ जुन कुनै पनि मिडिया वा प्रदर्शकहरूका लागि आफ्नै कोसिसले पूरै वर्षमा पनि पूरा गर्न सम्भव छैन । जिआइए फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले प्रत्यक्ष बजार प्रोत्साहनको शक्तिलाई स्पष्ट रूपमा परिभाषित र प्रदर्शन गर्दछ र आगामी २०२४ र २०२५ को लागि गति र प्राथमिकता तय गर्दछ ।








