हात्तिको बथान गाउँ पस्दा धानखेती सखाप

कञ्चनपुर । जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा हात्तिको बथानले सात विघा जग्गाको धानखेती सखाप पारेको छ ।

हरेक दिन राति बस्तीमा पस्ने हात्तीको बथानले स्थानीयको धानवालीमा ठुलो क्षति गरेको वडा अध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए । हात्ती भगाउनकै लागि यहाँका स्थानीय रातभर जाग्राम बस्ने गरेको उनले बताए । “दिनहुँ राति २०/२२ वटा सङ्ख्यामा रहेको हात्तीको बथान बस्तीमा पस्छ,” उनले भने, “हात्तीले यहाँ हैरान गरेको छ स्थानीयले सुत्न पाएका छैनन् ।”

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् ।

“हामीले राति उक्त बस्तीमा प्रहरीको डिउटी नै राखेका छौँ,” अध्यक्ष धनाडीले भने, “हात्ती भगाउन वडा कार्यालयबाट टर्च, साइरन स्थानीयलाई उपलब्ध गराएका छौँ ।” रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट हात्तीको बथान बच्चासहित दिनहुँ बडुबाल टोलमा पस्ने गरेको स्थानीयले बताए ।

“हात्ती भगाउन आगो बालेर रातभर जाग्राम बस्नुपर्छ,” स्थानीय रमेश सुनारले भने, “यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।”

उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताए । हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको स्थानीय लक्ष्मी रानाले बताए । “धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ,” उनले भने, “हात्तीकै कारण यहाँ खेतसमेत बाझो हुन थालेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =