तरकारी खेतीबाट आत्मनिर्भर इशा

भैँसी बेचेर च्याउ खेतीमा

बागलुङ । बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षेत्री तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएकी छन् । उनले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भएको छ । तीन रोपनी भन्दा बढी जग्गामा उनले चारवटा प्लास्टिक टनेल लगाएकी छन् ।

दुईवटा भैँसी पाल्दै आएकी क्षेत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरेकी हुन् । उनका तीन टनेलमा घिरौला, लौका, टमाटर, धनिया र तिते करेला छन् ।

उनले तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जिविका चलाएर केही रकम बचत समेत गर्दै आएकी छन् । च्याउ खेती समेत गरिरहेकी क्षेत्रीले च्याउ खेतीका लागि छुट्टै टनेलको प्रवन्ध गरेकी छन् ।

अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षेत्रीले बताइन् । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएकी क्षेत्रीले च्याउ खेतीमा जोड दिएकी हुन् । उनले च्याउखेती थप विस्तार गर्ने योजनामा रहेको सुनाइन् ।

“परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ”,उनले भनिन् “छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो ।”

दुई सय किलो च्याउ बिक्री गरिसकेको र अझै दुई सय ५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उनले बताइन् । च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन् ।

बेनी नगरपालिका–२ बौरस्थित माइतीगाउँका महिला तरकारी खेतीबाट आयआर्जन गर्न सफल भएको देखेर व्यावसायिक तरकारी खेती थालेको उनको भनाई छ ।

जग्गा आफ्नै र बिक्रीसमेत आफैंले बजार पुगेर गर्दा बचत धेरै हुनुका साथै बिचौलिया समेत आवश्यक नपर्ने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =