अस्पतालको अलमल र लाइन हटाउन के हुँदैछ ?

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालको झन्झटिलो प्रक्रिया र लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि पहल सुरु गरेका छन् । मन्त्री भएको २७ दिनपछि आफ्ना कार्ययोजना सार्वजनिक गर्दै उनले स्वास्थ्य सेवा सुधारको पहल सुरु गरेका हुन् ।

उसो त उनले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै भनेका थिए, ‘अस्पतालहरूमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गराउँछु ।’ पहिलो दिनदेखि नै लाइन हटाउने योजना कार्यान्वयन गर्न तदारुकता देखाएका उनले देखिने गरी काम सुरु गरेका छन् । सबै सरकारी स्वास्थ्य संस्थाहरूले भिड व्यवस्थित गर्न, सहज सेवा प्रदान गर्न र लाइन हटाउन आवश्यक प्रबन्धको थालनी गरिसकिएको छ ।

मन्त्रालयमा प्रतिवेदन बुझाएका १७ संघीय अस्पतालहरूले विस्तारित स्वास्थ्य सेवाको समय थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउण्ड तथा बिरामी भर्ना/डिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउण्ड तालिका तय गर्ने, डिजिटल प्रणाली अवलम्बन, अनलाइन दर्ता र भुक्तानी जस्ता कार्यलाई प्राथमिकता दिएको जनाएका छन् ।

अस्पतालको लाइन हटाउने कुरा समग्र स्वास्थ्य सेवा सुधारको सन्दर्भमा सानो प्रयत्नमात्रै रहेको स्वास्थ्यमन्त्री पौडेलले बताए । ‘हामीले गर्नुपर्ने धेरै काम छन् तर जनताले अनुभूति गर्ने सानो र महत्वपूर्ण काम भनेको लाइन हटाउने हो,ड उनले भने, ‘सरकारी अस्पतालमा सेवा लिन कुर्नुपर्ने, लाइनमा धेरैबेर उभिनुपर्ने, अलमलिनुपर्ने र झन्झटिलो छ भन्ने जनगुनासो सम्बोधन गर्न प्रयास थालेका हौँ ,’

अबको केही समयमै जनताले अनुभूति गर्नेगरी अस्पतालका सेवा सुधार हुने उनको दाबी छ । उनले मंगलबार मात्रै सातवटै प्रदेशमा मानव अधिकार अंग प्रत्यारोपण केन्द्र स्थापना घोषणा गरेका छन् । ‘भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रले मात्रै अब पुग्दैन । तत्काल सातवटै प्रदेशमा यसको शाखाको रूपमा उपकेन्द्रहरू स्थापना गर्छौं । यसको सुरुआत कोशी प्रदेशबाट हुन्छ’, मन्त्री पौडेलले भने ।

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म बिमितले अधिकतम एक लाख सम्मको स्वास्थ्य सुविधा प्राप्त गर्दै आइरहेका छन् । स्वास्थ्यमन्त्री पौडेलले भने आफ्नो कार्ययोजनामै समेटेर स्वास्थ्य बिमाको सुविधा पाँच लाखसम्म बनाउने घोषणा गरेका छन् । स्वास्थ्य बिमा सुविधा लिन बिमितले व्यहोर्नुपरेका सास्ती अन्त्य गर्ने पनि पौडेलको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =