बाढीबाट विस्थापित ७० परिवार घर फर्किए

बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् ।

सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए ।

हाल बाढी जोखिम कम भएसँगै उनीहरू घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

उनले भने, ‘सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरू हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।’

बर्सातका समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दा हरेक वर्ष समस्यामा पर्ने गर्दछन् । सिगास –५ का हरडाखानी, लाम्बगड, लोडे, सिगास – ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको छ ।

यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास –५ ढुङ्गाडलगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा क्षति गरेको थियो ।

यसैबीच असार २० गतेदेखिको वर्षाले बैतडीका पाँचवटा घरमा क्षति पुगेको थियो । दुई पशुचौपाया मरे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =