त्रिवि शिक्षण अस्पतालमा ६ करोड लगानीमा सुरु भयो निसन्तान दम्पतिको उपचारका लागि आईभीएफ सेवा

त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा निसन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आएको छ। अस्पतालले इन भिट्रो फर्टिलाइजेसन ( आईभीएफ) सेवासहितको उपचार केन्द्र सुरु गरेको हो।
स्वास्थ्य मन्त्रालयबाट आईभीएफ सेन्टर चलाउन स्वीकृति पाएपछि त्रिवि शिक्षण अस्पतालले आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए।
‘अब त्रिवि शिक्षण अस्पतालबाट निसन्तान दम्पत्तिका लागि आईभीएफ सेवा सञ्चालन भएको छ,’ उनले भने, ‘आईभीएफ बाहेकका निसन्तान उपचारका सेवा अगाडि नै दिइरहेका थियौं। मन्त्रालयले आईभीएफको स्वीकृति दिएपछि आईभीएफ सेवा पनि सुरु भएको छ।’
अस्पतालका निर्देशक डा काफ्लेले ६ करोड लगानीमा अस्पतालमा आईभीएफ सेन्टर सञ्चालन गरेको जानकारी दिए।
आईभीएफ सेन्टरमा आवश्यक भौतिक संरचाना तथा प्रवधि तथा उपकरण व्यवस्थापनका लागि ६ करोड खर्च गरिएको डा काफ्लेको भनाइ छ।
डा काफ्लेका अनुसार आईभीएफ सेन्टरका लागि सरकारबाट साढे ४ करोड र बाँकी अस्पतालको आन्तरिक स्रोत मार्फत व्यवस्थापन गरिएको हो।
पछिल्लो सयम दम्पतिहरुमा निसन्तानपनको समस्या बढ्दै गएको छ। महिला र पुरुष दुवैमा निसन्तानपनको समस्या हुनसक्ने भएकाले उनीहरुको निसन्तानपनको कारण पहिचान तथा उपचार गर्न सेवा सुरु गरिएको डा काफ्लेको भनाइ छ।
आईभीएफ सेवा सञ्चालनका लागि त्रिवि शिक्षण अस्पतालका प्रसूति तथा स्त्री रोग विभागको प्राध्यापक तथा पूर्व विभागिय प्रमूख डा पदम राज पन्तले आईभीएफ सेन्टरको संयोजकको जिम्मेवारी पाएका छन्।








