एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।
बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएपछि उनी दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
सोडारीलाई सत्तारुढ दलहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रञ्जितापक्षका सांसदहरूले साथ दिएका छन् ।
यसअघि नेकपा एमालेले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी सहयोग नगर्ने अडान लिएको थियो । एमालेले नेकपा एसबाट सोडारीबाहेक अन्य जुनसुकै सांसदलाई अघि सार्दा स्वीकार गर्ने बताएको थियो । अन्ततः सोडारीलाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको हो । सोडारी र एमाले नेताहरूबीच पार्टी विभाजनका क्रममा तिक्त सम्बन्ध थियो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।
कांग्रेसका १८ (एक जनाको निधन), माओवादी सभामुखसहित ११, एमाले उपसभामुखसहित १०, नागरिक उन्मुक्ति पार्टी ७ (५ जना रेशमतिर, २ जना रञ्जिता तिर), समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ जना प्रदेश सभा सदस्य छन् ।