अदालतबाटै अन्यायमा परेको भन्दै जनकपुरधाममा प्रदर्शन

काठमाडौँ । न्याय प्रदान गर्ने अदालतबाटै अन्यायमा परेको भन्दै जनकपुरधाममा पीडितले प्रदर्शन गरेका छन् ।

उच्च अदालत जनकपुरका न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै पीडितले आइतबार प्रदर्शन गरेका हुन् । धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरूलाई सफाइ दिएपछि पीडित पक्षले असन्तुष्टि जनाउँदै आइतबार अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।

धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका र बाँकी प्रतिवादीहरूलाई उच्च अदालत जनकपुरले सफाइ पाएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टि जनाउँदै फैसला गरेका न्यायाधीशद्वय विरुद्ध नाराबाजी समेत गरेका हुन् । उच्च अदालत जनकपुरका न्यायाधीशहरू किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले फैसला सुनाएको थियो । फैसला गर्ने न्यायाधीशद्वयलाई कारबाही र न्याय दिनुपर्ने मागसहित जनकपुरधाम नगरको परिक्रमा गर्दै प्रदर्शन गरिएको पीडित सञ्जीव राउत गडेरीले बताए ।

यसअघि घटनामा मारिएका रामसेवक राउतका छोरा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाविरुद्ध नाराबाजी समेत गरेका थिए । नाराबाजी गरेको आरोपमा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहलाई तत्कालै पक्राउ गरी अदालतले अवहेलना मुद्दामा तीन÷तीन हजार रुपैयाँ धरौटीमा छोडिएको थियो ।

सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =