हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् ।
एमाले झापाको ११ औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् । उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गरे ।
उनले लालकिल्लामा कसैलाई हात हाल्न दिनु नहुने बताए । उनले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए । उनले झापाबाट गल्तीले जितेर गएकाहरूको भूमिका कामै नलाग्ने रहेको बताए ।
उनले भने, ‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ । आजको होइन हो, यो ०४८ सालको सुरुको लालकिल्ला हो । यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन । हात हाल्ने कुचेष्ठा नगरे हुन्छ । यो लालकिल्ला हो, लालकिल्ला रहन्छ । राखिन्छ लालकिल्लाको रुपमा । गल्तीले जितेर गएकाहरूको माथि भूमिका हेर्नुस् त कस्तो छ । नचाहिने काम गरेका छन् । यो मात्रै होइन, अब त हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ । देशैभरि लालकिल्ला ।’
अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न नेपाली कांग्रेसलाई चेतावनी समेत दिए ।