शिक्षा समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

मंगलवार संसद भवनमा नेकपा (एकीकृत समाजवादी) का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरूलाई समाधान गर्नेगरी अघि बढ्ने बताए । उनले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ? भन्नेबारेमा आफूले कम गर्ने बताए । उनले शिक्षालाई पहिलो रोजाइको बनाउने गरी काम गर्ने बताए ।

उनले भने ‘सर्वसम्मत होस् भन्ने चाहना छ । सबै साथीहरूले मलाई रुचाउनुहुन्छ भन्ने लाग्छ । बाँकी दिनमा शिक्षामा जुन जटिलता छ, त्यो जटिलतालाई कसरी पन्छाएर सहजता बनाउने भन्नेमा गम्भीर रूपले लाग्नेछु । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा मिनी संसदको हिसाबले गतिका साथ अघि बढाउनेछु । देशमा शिक्षाका लागि गुणस्तर ढंगले अघि बढाउने पक्षमा छु । शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ? यो कानुन कसरी ल्याउन सकिन्छ भन्नेमा म छु । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।’

थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन् । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =