१–५ पढाउने सबै शिक्षक अङ्ग्रेजीबाट पढाउन सक्ने अवस्थामा हुनुहुन्न : वैकुण्ठप्रसाद अर्याल

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरूको संख्यामा कमी देखिएको बताएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले मातृभाषाको पाठ्यक्रम पढ्नेहरूको संख्या कम रहेको बताएका हुन् ।
उनले संविधानले मातृ भाषामा शिक्षा लिन पाउने हक सुनिश्चित गरेअनुरूप पाठ्यक्रम विकास केन्द्रले मातृ भाषामा पढाउन पाठ्यक्रम बनाएर लागू गर्दा समेत मातृ भाषामा पढ्नेहरूको संख्यामा कमी देखिएको बताए । उनले कुनै भाषाको पाँच÷सात सय पुस्तक छपाई गर्दा वर्षौँसम्म पनि किताब किन्न आउनेहरू नभएका बताए ।
उनले मातृ भाषामा शिक्षा दिनेकुरा प्रभावकारी बन्न नसकेको बताए । महानिर्देशक अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अङ्ग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताए । उनले आधारभूत तह १–५ का शिक्षकहरू अझैपनि अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने बताए ।
उनले राष्ट्र र राष्ट्रियताप्रति बफादार बनाउनेगरी पाठ्यक्रम बनाउनुपर्ने आवश्यकताको महसुस भएको भन्दै सोही अनुरूप पाठ्यक्रमहरू परिमार्जन गर्न तयारी गरिरहेको पनि बताए ।
उनले भने ‘एउटा विषय के देखिएको छ भने संविधानले पनि व्यवस्था गरेको छ, सबै राजनीतिक दलहरूको एक स्वर भएको अवस्था पनि हो कि मातृभाषामा शिक्षा आर्जन गर्ने हकको सुनिश्चित हुनुपर्छ भनेर । हामीले अभ्यासमा लैजाने प्रयास ग¥यौँ । तर मातृ भाषामै प्रयोग गर्ने प्रयोगकर्ताहरूमा कमी देखिएको छ । जति मान्छेहरूले प्रयोग गर्नुहुन्छ होला भन्ने अपेक्षा थियो, त्यस्तो देखिएको छैन । हामीले कुनै भाषाको ५००÷७०० किताब छपाइ गर्दापनि ती किताब लिन आउने अवस्था देखिएन । त्यसैले हामीले बनाउन खोजेको इफोर्ट्स र अभिभावकको चाहनाको बीचमा, चाहना र हाम्रो प्रयास फरक परेको हो कि जस्तो देखिएको छ । गणित, विज्ञान, कम्प्युटर अङ्ग्रेजी भाषामा पढ्न पाउनुपर्ने भन्ने व्यवस्थामा हामीले के ध्यान दिनु जरुरी छ भने अहिले आधारभूत तह कक्षा १–५ मा पढाइरहने शिक्षकहरू सबै शिक्षक अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न सक्ने अवस्थामा हुनुहुन्न । त्यसैले एकैचोटी कानुनमा व्यवस्था गरेर त्यो शिक्षकको क्षमता विकास गर्ने विषय हाम्रो लागि चुनौती बन्न सक्छ कि सुरुका वर्षहरूमा भन्ने विषय छ । यो विषय कसरी हल गर्ने होला ? अहिले देखिएको राष्ट्र र राष्ट्रियताप्रति बफादार हुने पाटोमा चाहिँ हाम्रो पाठ्यक्रममा कहीँ न कहीँ अभाव छ कि भन्ने महसुस भएको छ । पाठ्यक्रम विकास केन्द्रमा विज्ञहरूले दिनुभएको सुझाव पनि छ । त्यसैले अहिले पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम प्रारूपमा नै त्यो विषय राख्नेगरी परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले तयारी गरिरहेका छौँ ।’
उनले पाठ्यक्रम राम्रो बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन पक्ष राम्रो हुनुपर्ने बताए । उनले नेपालको पाठ्यक्रम दक्षिण एसियाको अन्य देशहरूसँग समान जस्तै रहेको उल्लेख गर्दै नेपाली पाठ्यक्रम कमजोर नभएको बताए । उनले पाठ्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
महानिर्देशक अर्यालले पाठ्यक्रम विकास केन्द्रले प्राविधिक धारका २१ वटा र मातृभाषाका ३१ वटा पाठ्यक्रम बनाएको पनि जानकारी दिए ।








