त्रियुगा नदीको पुल तत्काल निर्माण गर्न सरकारलाई ज्ञापन पत्र

काठमाडौँ । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा बन्दै गरेको पुलको निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै स्थानीयहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहीबार मन्त्रालयमा चौदण्डीगढी नगरपालिकाका प्रतिनिधिहरूसहितले मन्त्री ज्वालालाई भेटेर पुलको निर्माण कार्य तत्काल अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
२०७८ असार १९ गते आएको बाढीले पुल भत्काएपछि पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । १२ वर्षमा तयारी हुनेगरी सुरु गरिएको निर्माण कार्य ०७८ को बाढीपछि काम अघि बढ्न सकेको थिएन । शिवायी र बेली जोड्ने सडकअन्तर्गतको पुल २०६६ सालबाट निर्माण सुरु भएको थियो ।
मन्त्री ज्वालालाई ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौदण्डीगढी नगरपालिका ५ का अध्यक्ष तुल्सीराम ढकालले त्रियुगा नदीमा शिवायी र बेली जोड्ने पुल १४ वर्षअघि निर्माण सुरु भएको तर अहिलेसम्म नसकिएको बताए ।
उनले पुल नबन्ने अवस्था भए वा पुल निर्माणमा ढिलो गरे मन्त्रालयमै धर्ना दिने चेतावनी दिए । उनले सरकारले कहिलेबाट काम सुरु गर्ने हो ? त्यसको प्रतिबद्धता दिनुपर्ने बताए ।
उनले भने ‘त्रियुगा नदीमा शिवायी र बेली जोड्ने पुल छ । यो खोटाङ, भोजपुर जोड्ने बेलटार बजार केन्द्रित पुल हो । १४ वर्षअघि सुरु भएको थियो । १२ वर्षमा तयारी हुने अवस्थामा तीन वटा स्पान भाँचिएको र भाँचिसकेपछि यो पुल महाशाखा विभागमा पटकपटक बैठक गरेपनि केही नभएपछि हामीले यो ध्यानाकर्षण गराएका हौँ । अहिलेको अवस्थामा स्पष्ट भन्नुपर्दा डेमोक्रेसीलाई ब्युरोकेसीले छेकिरहेको अवस्था छ । यो अवस्था रही रहेसम्म काम हुँदैन । पुल नबन्ने अवस्था देखियो भने आज हामी यहाँ आएका छौँ भोलि विभागमा गएर प्रतिवेदन दिन्छौँ र नभए मन्त्रालयको प्राङ्गणमा धर्ना दिन्छौँ । यसको प्रतिबद्धता आउनुपर्छ । कहिलेबाट काम सुरु हुने ।’
त्यस्तै नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खगेन्द्र राईले उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीमा बन्दै गरेको शिवायी र बेली जोड्ने सडकअन्तर्गतको पुल २०६६ सालबाट निर्माण सुरु भएको भएपनि अझै निर्माण पूरा हुन नसकेपछि मन्त्री ज्वालालाई भेटेर ध्यानाकर्षण गराएको बताए ।
उनले ०७८ असार १९ गते आएको बाढीले पुल भत्काएपछि सरकारले गत भदौ महिनामा कार्तिकबाट काम सुरु हुन्छ भनेपनि आश्वासनमै सीमित भएको बताए । उनले सरकारले पुल निर्माण कार्यमा ढिलो गरे सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
उनले भने ‘उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीमा बन्दै गरेको शिवायी र बेली जोड्ने सडकअन्तर्गतको पुल २०६६ सालबाट निर्माण सुरु भई २०७८ सालमा सम्पन्न भएको थियो । तर ०७८ असार १९ गते आएको बाढीले त्यो भत्कियो, त्यसपछि कसरी बन्ने र बनाउने भन्ने सन्दर्भमा सडक विभाग लगायतका निकाय लागिरह्यो । गत भदौ महिनामा कार्तिकबाट सुरु हुन्छ भनेर आश्वासन पाएका थियौँ । तर त्यो आश्वासनमै सीमित भयो । मन्त्रीज्यूलाई यथाशीघ्र निर्माण कार्य अघि बढाउन भन्दा मन्त्रीज्यूले पहिलाको भन्दा केही प्राविधिक कुराहरू नबुझीकन यसलाई अघि बढाउन सकिँदैन, भन्नुभएको छ । केही दिन हेरौँ भन्नुभएको छ केही दिन हेछौँ र हाम्रो यो डेलिगेशन टिम यतै बस्छौँ । नहुने र ढिलो हुने भयो भने यसलाई अघि बढाउन सशक्त आन्दोलन गर्नेछौँ ।’
ज्ञापन पत्र ग्रहण गरेपछि बोल्दै मन्त्री ज्वालाले पुल निर्माण कार्यमा केही ढिला भएपनि समाधान निकाल्ने गरी अघि बढ्ने आश्वासन दिए ।
उनले भने ‘अलिकति ढिला भएपनि समाधान निकाल्ने गरी नै जाऔँ । भोलिसम्म उहाँले निर्णय गर्नेगरी अघि बढाऔँ । यसमा सबै क्षेत्रका सम्बन्धित व्यक्तिहरू बसेर फाइनल टुंगो गर्नेगरी हामी तयारी गर्छौं ।’
बाढीले क्षतिग्रस्त बनाएको त्रियुगा नदीको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो । तर अझै निर्माणको काम सुरु भएको छैन । ३ सय ७ मिटर लम्बाई रहेको पुलमा १२ वटा पिलर र ११ वटा स्लाब रहेको छ ।








