कञ्चनपुरमा फोहरमैला व्यवस्थापन गर्न कार्ड वितरण गरिँदै

कञ्चनपुर । फोहरमैला व्यवस्थापन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएका कलुवापुर, झलारी, वन समिति, गर्जमुनी बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन कार्ड वितरणका लागि कर्मचारी खटाएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ (२) ख मा भएको व्यवस्थासँगै नगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ र आर्थिक ऐन २०८० बमोजिम फोहरमैला व्यवस्थापनका लागि पूर्वपश्चिम राजमार्ग छेउछाउका व्यवसायी, उद्यमी, आवासीय क्षेत्रका घरधुरीको लगत सङ्कलन गरी कार्ड वितरणको कार्य भइरहेको नगरपालिकाको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताए ।
उनका अनुसार लगत सङ्कलन र कार्ड वितरणका लागि चार जना कर्मचारीलाई खटाइएको छ । नगरपालिकाको आन्तरिक आय बढाउन र फोहरमैलालाई थप व्यवस्थित बनाउनका लागि यस कार्यलाई अगाडि बढाइएको उनले उल्लेख गरे ।
हाल झलारी, वन समिति र कलुवापुर बजार क्षेत्रमा नगरपालिकाले निःशुल्करुपमा फोहर उठाउँदै आएको छ । लगत सङ्कलन र कार्ड वितरणको कार्य पूरा भएपछि नगरपालिकाले बजार क्षेत्रका घरधनीबाट फोहर उठाएबापत शुःल्क लिने भएको छ ।
फोहरमैला सङ्कलन गरेबापत उठाउने राजस्वबाट नगरपालिकाले फोहरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको तलबको व्यवस्था गर्ने र बाँकी रहेको रकम थप फोहरमैला व्यवस्थापनका क्षेत्रमा खर्च गर्ने भएको छ ।
‘नगरपालिकाले बजार क्षेत्रमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टैरुपमा राख्नका लागि बजार क्षेत्रमा कुडादानीको व्यवस्था गर्न लागेको छ’, फोहमैला व्यवस्थापन शाखका प्राविधिक धीरज ऐरले भने, ‘बजार क्षेत्रमा भित्री भागबाट पनि कार्ड वितरण पछि फोहर उठाउने कार्य हुन्छ, कुडादानीमा राखिएको फोहरमैलालाई एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर प्रशोधन गरिने छ ।’
उनका अनुसार भान्सा, घरबाट निस्कने फोहर, घर बाहिरबाट निस्कने फोहर, विद्यालयबाट निस्कने फोहर, बजारबाट निस्कने फोहर, अस्पतालबाट निस्कने गरी नगरपालिकामा हाल दुई मेट्रिकटन फोहर सङ्कलन हुने गरेको छ । ‘फोहरमैला व्यवस्थापनको कार्यले नगरपालिका भित्रका बजारको सौन्दर्यता बढ्छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘फोहरमैलाकै दुर्गन्धका कारण हुने रोगव्याधीको समस्या पनि हट्छ ।’








