तिहारमा यसरी सजाउनुस् घर

काठमाडौं । तिहार सुरु भएसँगै गाउँदेखि सहरमा झिलिमिली हुने क्रम बढ्दो छ ।

घरलाई सफा सुग्घर राख्दा, झिलिमिली बनाउँदा, दियो–बत्ती बाल्दा लक्ष्मी भित्रिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

लक्ष्मी धन(ऐश्वर्यकी प्रतीक । त्यसो त घरसँग हाम्रो भावनात्मक सम्बन्ध हुन्छ, जहाँ हामी अधिकांश समय व्यतीत गर्छौं । आफू बस्ने घरलाई सजाउँदा हाम्रो मन पनि प्रफुल्ल हुने नै भयो ।

खास गरी तिहारमा घरलाई विशेष ढङ्गले सजाउने प्रचलन छ । वर्षौंदेखि हामीले यसलाई निरन्तरता दिँदै आएका छौं ।

घर राम्रो बनाउनु भनेको नै सजावट गर्नु हो । घरलाई फरक वा विगतका भन्दा फरक शैलीमा सजाउन सके नयाँपन महसुस गर्न सकिन्छ । यद्यपि तिहार एक सांस्कृतिक चाड भएकाले घरलाई पनि सोही अनुरूप सजाउनु उत्तम हुन्छ ।

तिहारको बेला सयपत्री फुल र मखमली फुलले खेत तथा बारीहरू ढकमक्क भएको हुन्छ । सयपत्रीको मालालाई झ्याल(ढोकासहित घरको अग्र भागमा लस्करै सजाउन सकिन्छ । त्यसै गरि आफ्नो इच्छा अनुसार सजावट गर्न सकिन्छ ।

यदि फूल उपलब्ध छ भने आँगन, बार्दली समेत फूल मालाले सजाउन सकिन्छ । त्यस्तै बैठक कोठा वा घरभित्रको फराकिलो ठाउँमा पनि मालालाई कलात्मक रुपमा सजाउन सकिन्छ ।

कतिपयको घरमा स्थायी पूजा कोठा हुन्छ । त्यसैलाई सजाउन सकिन्छ । कतिपयले भने अस्थायी रुपमा पनि लक्ष्मीको फोटो, प्रतिमा आदि राखेर पूजा स्थल बनाउन सक्छन् ।

पूजा स्थलमा फूल माला र झिलिमिली बिजुली राख्ने, दियो कलश राख्ने, फूल अक्षता राख्ने । केराको थाम राख्ने र पहेँलो वा रातो कपडाको टुक्राहरू प्रयोग गर्न सकिन्छ । साथै झिलिमिली बत्तीले पनि सजाउन सकिन्छ । पूजा स्थलले पनि घरको आकर्षण बढाउँछ ।

लस्करै बालिएको दियोले घरलाई निकै आकर्षक देखाउँछ । सामान्यतया माटोको दियोलाई एक समान लहरमा राखेर बाल्न सकिन्छ । अहिले बजारमा विभिन्न शैली एवं डिजाइनका दियो उपलब्ध छन्, आफ्नो रुचि अनुरूपको दियो सजाउन सकिन्छ ।

यसै गरी दियोको विकल्पमा मैनबत्ती पनि जलाउन सकिन्छ । थरी थरी शैलीका मैनबत्तीलाई कलात्मक ढङ्गले सजाउन सकिन्छ । अहिले सुगन्धित मैनबत्ती पनि बजारमा पाइन्छ ।

अधिकांशले तिहारमा झिलिमिली बत्ती सजाउने गर्छन् । त्यसो त तिहारलाई लक्षित गरेर अनेक थरी बिजुली बजारमा आएका छन् । आफ्नो घरको बनावट हेरेर पनि यस्तो बिजुली सजाउन सकिन्छ ।

धेरै थरी रङ्गको बिजुली भन्दा पनि रातो मात्र, निलो मात्र वा पहेँलो मात्र बिजुली राख्दा अझ भिन्न देखिन्छ ।

तिहारमा घरलाई आकर्षक बनाउन तामा, चाँदी आदिको कलश र खड्कुँलोमा पानी राखेर त्यसमाथि फूलहरू सजाउन सकिन्छ । पानीमाथि तैरिरहेको फूल, सुगन्धित वनस्पति र बलिरहेको दियोले निकै आकर्षक देखाउँछ ।

अब घरको प्रवेशद्वार वा आँगनमा रंगोली बनाउन सकिन्छ । ठाउँ र अवस्था हेरेर रंगोली ठूलो वा सानो बनाउन सकिन्छ । रङ्ग, अक्षता, फूल आदि जे उपलब्ध हुन्छ, त्यसैबाट रंगोली बनाउन सकिन्छ । अहिले रंगोलीको डिजाइन इन्टरनेटमा सहजै पाइन्छ । त्यसैलाई हेरेर पनि बनाउन सकिन्छ ।

रंगोली डिजाइन गर्नका लागि तयारी सामाग्री पनि अहिले बजारमा पाइन्छ । रंगोलीको माझमा वा हरेक कुनामा दियो सजाउन सकिन्छ ।

यदि घर वरपर बगैँचा छ, रूख छ भने त्यसलाई पनि सजाउन सकिन्छ । बगैँचामा भएको रुख बिरुवा र रुखमा बत्ती जडान गरेपछि घरलाई झलमल्ल बनाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =