देउराली सहकारीका निक्षेपकर्तालाई उजुरी गर्न सिआइबीको आह्वान

देउराली बचत तथा ऋण सहकारी संस्थाबाट पैसा फिर्ता नपाएका निक्षेपकर्तालाई उजुरीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आह्वान गरेको छ।

सिआइबीले सोमबार सूचना जारी गरी उजुरी गर्न भनेको हो। ब्युरोले सो सहकारीका सञ्चालकहरू यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सिआइबीको सूचनामा भनिएको छ, ‘देउराली बचत तथा ऋण सहकारी संस्था लि। केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर भई भक्तपुर र काठमाडौं जिल्लाभित्रका सहकारीका सेवा केन्द्रहरूका निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त पेस गरेकामा उल्लेखित कसुरउपर मुद्दा दर्ता गरी यस ब्युरोबाट अनुसन्धान कार्य भइरहेकाले काठमाडौं र भक्तपुर जिल्लाभित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरूउपर प्रमाणसहित यस ब्युरोमा यथाशीघ्र रितपूर्वकको जाहेरी दिनुहुन सूचित गरिएको छ।’

सिआइबीले सो संस्थाका अध्यक्ष काभ्रेको चौँरी देउराली स्थायी घर भएका रवीन्द्र चौलागाईंलाई सिआइबीले गत १६ असोजमा पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगीका साथै सांगठिक अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। सिआइबीले गत साता संस्थाका थप दुईजनालाई पनि पक्राउ गरेको छ।

व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्रीलाई पक्राउ गरेको हो।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउरालीको काठमाडौंको न्युरोड र भक्तपुरको सूर्यविनायकमा शाखा कार्यालय छन्। जहाँ कम्तीमा २० हजारभन्दा धेरै सर्वसाधारणको करिब दुई अर्ब फसेको र पीडितहरूबाट जाहेरी आउने क्रम जारी रहेको सिआइबीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =