कबड्डीमा नेपालले पदक जित्ने पक्का

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालको पदक जित्ने लगभग पक्का भएको छ ।
नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले कम्तीमा कास्जिय पदक जित्ने सम्भावना बलियो भएको हो ।
दक्षिण एसियाली दुई राष्ट्रको भिडन्तमा आइतबार बंगलादेशलाई ३७–२४ ले हराउँदै नेपालले कम्तीमा कास्य पदक जित्ने लगभग पक्का गरेको छ । खेलको मध्यान्तरमा नेपाल २१–१६ ले अगाडि रह्यो ।
समूहको अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालको कास्य पदक पक्का हुनेछ । इरान अघिल्लो संस्करणको स्वर्ण पदक विजेता टोली हो ।
सात टोली सहभागी महिला कबड्डीमा इरानसँगै नेपाल र बंगलादेश एकै समूहमा छन् । आइतबारको जितेमा नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुने समिकरण छ । अन्तिम चारमा पराजित हुने दुबै टोली स्वतः तेस्रो हुने कारण नेपालले बंगलादेशलाई हराए कम्तिमा कास्य पदक पक्का हुने देखिएको हो ।
सन् २०१९ मा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३६–२५ ले हराएको थियो । नेपालले उक्त संस्करणमा फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो ।








