उच्च शिक्षा लिनुअघि परामर्श अनिवार्य – अध्यक्ष सिलवाल

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले भर्ना हुने शिक्षण संस्था र विषयबारे पर्याप्त जानकारी लिन आवश्यक रहेको उच्च माध्यमिक शिक्षा परिषद् हिसानका अध्यक्ष रमेश सिलवालले बताएका छन् ।
इडुअर्थ नेटवर्कले मंगलवार गरेको शिक्षामा सवाल जवाफ कार्यक्रममा बोल्दै सिलवालले परिवार, आफन्त र साथीभाइको लहडमा नभई आफ्नो भित्री इच्छा र क्षमताका आधारमा विषय रोज्न विद्यार्थीहरूलाई सुझाव दिए ।
विज्ञसँग विद्यार्थीको साक्षात्कार कार्यक्रममा बैङ्कर मनोज ज्ञवालीले आफ्नो क्षमतामाथि विश्वास गरेर करियर निर्माण गर्नुपर्ने बताए । “जतिसुकै तीव्र प्रतिस्पर्धा किन नहोस्, त्यसमा सफल हुन कठोर मेहनत चाहिन्छ”, उनले भने “मेहनतले प्राप्त गरेको सफलताले सन्तुष्टि प्राप्त हुन्छ ।” ज्ञवालीले जुनसुकै विधामा करियर बनाए पनि दत्तचित्त भएर लाग्दा मात्रै सफलता हासिल हुन सक्ने बताए ।

त्यसतै शिक्षा सेवामा लामो समयदेखि लागेका सफल व्यवसायी विष्णुहरि पाण्डेले विद्यार्थीले कलेज छान्दा विशेष ध्यान दिनुपर्ने बताए । उनले कलेजमा भएका भौतिक संरचना मात्रै नभई त्यहाँ पढेका विद्यार्थीहरू कस्ता ठाउँमा जवसेटलमेन्ट भएका छन्, लगानीकर्ता कस्ता छन् र तिनले कस्तो प्रतिबद्धता व्यक्त गरेका छन् भन्ने बारे स्पष्ट हुन भने ।
इ–सेवाका संस्थापक अस्गर अलीले अबको १५ वर्षसम्म आइटी क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै करिअर निर्माण गर्न आइटी विषय उपयुक्त भएको सुझाव दिए ।
“धेरैले अवसर नै छैन भन्छन् । तर, यस्तै बेला हो हामीले अवसर सृजना गर्न सक्ने”, उनले भने “समस्यामै मौका पनि हुन्छ भन्ने बुझ्नुपर्छ । त्यो काम हामीले इ–सेवाकाम थाल्दा गरेका हौँ ।”
त्यस्तै सीए दीपक पाण्डेले विदेशमा मात्रै राम्रो कमाइ हुन्छ भन्ने भाष्य गलत रहेको भन्दै देशभित्रकै सम्भावनामा आफुलाई दत्तचित्त बनाउन अहिलेदेखि लाग्नुपर्ने बताए।
“यहाँ प्रशस्त सम्भावना छ । हामीले आफ्नै देशमा जब सृजना गर्न सक्छौँ ”, पाण्डेले भने “मात्र आफ्नो लक्ष्य र योजना स्पष्ट पार्नुपर्छ । आफुमा भरोसा गर्नुपर्छ ।”
होटल व्यवस्थापनको क्षेत्रमा लामो अनुभव सँगालेकी अञ्जना खड्काले जनशक्ति उत्पादन भइरहेपछि दक्ष जनशक्ति अभाव रहेको महसुस भएको बताइन् । अर्का वक्ता राजु कट्टेलले आइटी क्षेत्रमा रोजगारी सृजना गर्न सकिने प्रशस्त आधार रहेको हुँदा विद्यार्थीका लागि उक्त क्षेत्र पनि राम्रो हुनसक्ने तर, आफूले कलेज छान्दा पहिले विषय र पाठ्यक्रम बारे राम्रोसँग बुझ्नुपर्ने बताए ।
करिब ३ सय विद्यार्थी सहभागी भएको उक्त छलफल कार्यक्रममा ब्याचलर डिग्री लिनुअघि विद्यार्थीले विषय र क्याम्पस बारे राम्रोसँग जानकारी लिनु आवश्यक रहेको हुनाले यस कार्यक्रमको आयोजना गरिएको इडूअर्थ नेटवर्ककका अध्यक्ष लक्ष्मण लामिछानेले जानकारी दिए ।
उनका अनुसार विषयगत क्षेत्रको जानकारी दिने यस्ता कार्यक्रम निरन्तर हुँदै जानेछन् । पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीहरूले वक्ताहरूसँग विषय–कलेज छनौट र करिअर बारे विभिन्न जिज्ञासा राखेका थिए । 








